वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा ६६ शय्याको कोभिड डेडिकेटेड अस्पताल निर्माण हुने भएको छ ।प्रदेश नम्बर २ को सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्थाको रुपमा परिचित नारायणी अस्पतालमा कोभिड विशेष अस्पताल निर्माणका लागि संघीय सरकारले ३ करोड रुपैयाँको बजेट निकासा गरेको छ ।अस्पतालको पछाडी अर्काे वर्ष ३ तलासम्म बनाउने गरी शुरुमा १ तले भवन निर्माणको प्रक्रिया शुरु भइसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानले बताए । डा. प्रधानका अनुसार ६६ शय्याबाट निर्माण शुरु गरिने अस्पताललाई आगामी दिनमा ३ सय बेडसम्मको बनाउने योजना रहेको छ । फास्ट ट्रयाकमा अस्पताल निर्माणको प्रक्रिया शुरु भइसकेको र टेण्डर प्रक्रिया पनि शुरु भइसकेको छ ।
तत्काल ७० फिट चौडाइ र १ सय १० फिट लम्बाइ भएको अस्पताल भवनको भुइँतला निर्माण हुनेछ । जहाँ वयस्क कोभिड संक्रमितहरुको उपचार हुने डा. प्रधानको भनाई छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका कारण हटस्पट बनेको वीरगञ्जमा बारा, रौतहट, सर्लाही, महोत्तरीसम्मका बिरामी आउने भएकाले कोभिड डेडिकेटेड अस्पतालको आवश्यक्तालाई मध्यनजर गर्दै निर्माण प्रक्रिया थालिएको डा. प्रधानले बताए ।
सरकारी अस्पतालमै भरपर्दाे उपचार पाए निजी अस्पताललाई तिर्नुपर्ने चर्काे शूल्कबाट बिरामीहरुले छुटकारा पाउने विश्वास पनि डा. प्रधानले व्यक्त गरे । अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी डा. प्रधानले सम्हालेसँगै प्रशासनिकदेखि, भौतिक पूर्वाधार र अन्य व्यवस्थापन सुधारोन्मुख देखिएको अस्पतालमा जाने बिरामीहरुले प्रतिक्रिया दिने गरेका छन् ।विगतदेखि नै अस्पतालको अवस्थालाई नजिकबाट नियालेका यही क्षेत्रका डा. प्रधानबाट वीरगञ्जवासीले गरेको अपेक्षा पनि पुरा हुने र अस्पतालबाट विश्वसनीय एवम् गुणस्तरीय सेवा प्रवाह हुने संकेत देखिएको छ ।