वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले नवनियुक्त मन्त्रीहरूलाई काम गर्न सर्वोच्च अदालतले लगाएको रोकले राजनीतिक अवस्थालाई बिगार्ने प्रतिक्रिया जनाएको छ ।सर्वोच्चको आदेशबाट पदमुक्त भएका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री एवं जसपा नेता लक्ष्मणलाल कर्णले अदालतको आदेश स्वीकार्ने आफूहरूको धर्म भए पनि यसले राजनीतिक वातावरण बिगारेको प्रतिक्रिया जनाए ।
‘अदालतले राजनीतिलाई हस्तक्षेप गर्नु हुँदैन । ३ मन्त्रीबाहेक सबै हटाउने भनेपछि देश ३ वटा मन्त्रीले मात्र चल्दैन । त्यसमा पनि संविधानले २५ जनाको कल्पना गरेको छ,’ कर्णले लोकान्तरसँग भने, ‘संविधानमा कतै पनि चुनावी वा कामचलाउ सरकार भनेको छैन । नभनेको कारणले चुनाव गराउने अभिभारा हो तर सरकार फूल फेलेज हो । कामचलाउ पनि भनेको छैन, संविधानमा पनि छैन ।’
मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीको अधिकार भएको भन्दै उनले अदालतले हस्तक्षेप गर्न नमिल्ने बताए । ‘सर्वोच्चले यस्तो आदेश गर्छ भने देशमा राजनीतिक विकृति पैदा गर्छ । अदालतको फैसला सम्मान गर्ने हाम्रो धर्म हो तर राजनीतिमा यसको परिणाम राम्रो देखिएको छैन । राजनीतिक अवस्थालाई बिगार्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमतिपछि जेठ २१ गते जसपा सरकारमा सहभागी भएको थियो । सर्वोच्चको आदेशपछि जसपा सत्ताबाहिर पुगेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले मंगलवार नवनियुक्त मन्त्रीहरूलाई काम गर्न रोक लगाएको थियो ।