भारत | भारतमा एकै दिनमा ८० लाखलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो।
कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन्।
‘एकै दिनमा सबैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोनाविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा लेखेका छन्।
१८ वर्षमा सबैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो। यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो। यद्यपि, भारतमा काेराेना संक्रमणदर ओरालाे लाग्ने क्रम छ। पछिल्लाे २४ घण्टामा ५३ हजार २ सय ५६ नयाँ संक्रमित फेला परेका छन्। याे ८८ दिन यताकै सबैभन्दा कम संख्या हाे।
साेही अवधिमा १४ सय २२ जनाकाे मृत्यु भएकाे छ भने ७८ हजार १ सय ९० जना संक्रमणमुक्त भएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। अहिलेसम्म संक्रमित हुनेकाे कूल संख्या २ कराेड ९९ लाख ३५ हजार २ सय २१ पुगेकाे छ। तीमध्ये २ कराेड ८८ लाख ४४ हजार १ सय ९९ जना निकाे भएका छन्।मृत्यु हुनेकाे संख्या ३ लाख ८८ हजार १ सय ३५ पुगेकाे सरकारी तथ्यांक छ। अहिले भारतमा ७ लाख भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।