वीरगन्ज । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा नेपाली कांग्रेसका कार्यकर्ताले ताला लगाइदिएका छन् । गत २४ चैतमा वडा कार्यालयबाट चोरी भएको भनिएको ५३ लाख रुपैयाँ खोजी गरी दोषीलाई कारबाही नगरेसम्म ताला नखोल्ने कांग्रेसले जनाएको छ । वडासचिवसहित वडाका ३ जना कर्मचारीले सामाजिक सुरक्षा भत्ता वितरण गर्न भन्दै बैंकबाट निकालेको ५० लाख र वडा कार्यालयमा रहेको ३ लाख रुपैयाँ चोरी भएपछि चौतर्फी खोजी जारी छ ।
पालिकाखबरले यो विषयमा निरन्तर खबर प्रकाशन गरेपछि स्थानीय राजनीतिक दलले समेत चासो देखाएका हुन् । झण्डै तीन महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु र गत वर्ष मंसिरदेखि सामाजिक सुरक्षा भत्ताबापतको रकम वृद्धवृद्धाहरुले पाउन नसकेको भन्दै वडा कार्यालयमा ताला लगाइएको कांग्रेस नुवाकोटले जनाएको छ ।
यो प्रकरणमा नैतिक दोषी भन्दै संघीय मामला तथा सामान्य प्रशासन मनत्रालयले प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई मन्त्रालयमा सरुवा गरेर अनुसन्धान गरिरहेको छ । मन्त्रालयले गठन गरेको छानविन समितिले पनि अधिकृत पुडासैनी नैतिक रुपमा दोषी भएको प्रतिवेदन तयार पारेको छ । मन्त्रालयले सो प्रतिवेदन अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई बुझाउने तयारी गरिरहेको छ ।