वीरगञ्ज। अविरल वर्षापछिको बाढी पहिरोमा परी शुक्रबार थप ५ जनाको मृत्यु भएको छ। मनसुन भित्रिएसँगै आएको बाढी पहिरोमा परी अहिलेसम्म २२ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन्।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज डोटीमा २ जनाको मृत्यु भएको हो। यसैगरी सप्तरी, कालिकोट र प्युठानमा एक/एक जनाको मृत्यु भएको हो।
यस वर्ष मनसुन भित्रिएसँगै पछिल्लो सातामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ।जाजरकोटमा हिजोदेखि बेपत्ता भएका भनिएका ७ जना आज बिहान सकुशल भेटिएका थिए। सिन्धुपाल्चोकबाट बेपत्ता हुनेको संख्या भने २० जना पुगेको छ। बाजुरा र रुपन्देहीका एक/एक जना अझै बेपत्ता रहेका मन्त्रालयले जनाएको छ।बाढी पहिरोमा परी देशभरका १ सय ३२ वटा निजी घर पूर्ण रुपमा ध्वस्त भएका छन्।