वीरगन्ज । पर्सा जिल्लामा अहिले कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुन्यमा झरेको छ । बैशाख महिनामा कोरोनाको दोश्रो लहर शुरु भई हटस्पटको रुपमा स्थापित बीरगन्जमा अहिले असार महिना आएपछि कोरोना संक्रमित दरमा कमि आएको छ भने कोरोनाबाट हुने मृत्यु दर शुन्यमा छ ।
असार १ गते यता पर्सामा कोरोना संक्रमणले कसैको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवम प्रशासकिय अधिकृत विनय श्रीवास्तवले बताउनुभयो । पछिल्लो पटक जेठ ३१ गते पर्सामा कोरोना संक्रमणले १ जनाको मात्र मृत्यु भएको थियो ।
वीरगन्जका अस्पतालमा जेठ अन्तिम सातासम्म दैनिक औसतमा ३ देखि ४ जनाको मृत्यु हुँदै आएको थियो ।, तर असार शुरु भएपछि भने पर्सा जिल्लामा कोरोनाले हुने मृत्यु दर शून्यमा झरेको श्रीवास्तवले बताए । श्रीवास्तवका अनुसार पर्सामा जेठ ३१ गते १ जनाको, जेठ ३० गते १ जनाको , जेठ २९ गते १ जनाको , जेठ २७ गते १ जनाको र जेठ २५ गते ३ जनाको मृत्यु भएको थियो ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि चैत ३० गते देखि जेठ ३१ गते सम्म वीरगन्जका विभिन्न अस्पतालमा गरी ३ सय २७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए। ती मध्ये पर्सा जिल्लाका मात्रै १३७ जना हुन् । बाँकी १९० जना भने ,अन्य जिल्लामा घर भइ वीरगन्जका अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाहरु रहेको श्रीवास्तवले बताए । संक्रमणको पहिलो लहरमा वीरगन्जमा कोरोना संक्रमणले पर्साका ५५ जना र अन्य जिल्लाका ३१ जना गरि ८६ जनाको मृत्यु भएको थियो ।
पर्सामा हाल सक्रिय संक्रमितको संख्या पनि निक्कै कम छ । बीरगन्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र अन्य अस्पतालमा गरी अहिले पर्सा जिल्लामा सकृय संक्रमित ५२ जना मात्र रहेका छन् । ती मध्ये अस्पतालमा ३१ जना र २१ जना संक्रमित भने आफनै घरको होम आइसोलेसनमा रहेका छन् । बीरगन्जका विभिन्न अस्पतालको एचडियुमा १६ जना , आइसीयुमा १३ जना र भेन्टिलेटरमा २ जना गरी मात्र ३१ जनाको उपचार भईरहेको श्रीवास्तवले जानकारी दिए ।
पर्सामा संक्रमण दर पनि निक्कै घटेको छ । नारायणी अस्पतालको प्रयोशगालामा दैनिक हुँदै आएको परीक्षण दर पनि निक्कै कम रहेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए ।
असार महिना सुरु भएयता संक्रमण दर ७ प्रतिशतमा झरेको डाक्टर सिंहले बताए । अहिले संक्रमणको दोस्रो लहर कम हुँदै गएको भएपनि तेस्रो लहर आउने संकेत देखा परिरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अझ कडाइका साथ पालना गर्न आवश्यक भएको डाक्टरहरुको सुझाव छ ।
पर्सा जिल्लामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । पछिल्लो समय संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा केहि खुकुलो पारेर असार ६ गते सम्मका लागि थपिएको छ ।
तर निषेधाज्ञा खुकुलो मात्रै गरिएको भएपनि बजारका पसल सहज अवस्थाका बेलाको जस्तो खुल्न थालेका छन् । बजारमा मानिसको चहलपहल पनि बढ्न थालेको छ । बजार र सडकमा निस्किएकाहरुले मास्क पनि लगाउन छाडेका छन् । यसले संक्रमण फेरि बढ्ने जोखिम बढाएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए ।