बिरगंज। बौद्धिक अपांगता भएकी दोलखाकी अविवाहित २३ वर्षीया युवतीले गत वर्ष कात्तिकमा दोस्रोपटक बच्चा जन्माइन् । राष्ट्रिय अपांग महासंघ, वाग्मती प्रदेश अध्यक्ष अश्विन लम्सालका अनुसार उनले बलात्कारबाट गर्भ बसेर बच्चा जन्माएकी थिइन् । पहिलोपटक पनि बलात्कारबाटै गर्भ बसेर उनको मृत बच्चा जन्मिएको थियो । परिवारले छोरीलाई सुरक्षित राख्न नसकेपछि चरिकोटस्थित एक सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) मा राखियो ।
उनी जन्मजात नै बोल्न नसक्ने, कान नसुन्ने र ओछ्यानमै दिसापिसाब गर्छिन् । बौद्धिक स्मरण क्षमता कमजोर भएकाले छिनछिनमै अनौठा व्यवहार देखाउँछिन् । सेफ हाउस तारबार नगरिएकाले जतिबेला पनि बाहिर निस्किहाल्थिन् । बाटोमा हिँड्नेबाटै यौन हिंसामा पर्ने सम्भावना बढेपछि परिवारले सेफ हाउसमा राखेको दुई महिनामै घर फर्काए । फेरि बच्चा बस्ला भनेर उनीहरुले अस्पतालमा लगेर गर्भ निरोध सुई लगाइदिने गरेका छन् । पीडित परिवार र सेफ हाउसको निरीक्षणबाट फर्केका राष्ट्रिय अपांग महासंघ, वाग्मती प्रदेश अध्यक्ष लम्साल भन्छन्, ‘फेरि पनि यौन हिंसामा पर्छिन् भन्ने थाहा हुँदाहुँदै सेफ हाउसमा एड्जस्ट गर्न नसकेर घरै राख्नुपरेको छ ।’
वैशाख २६ गते महोत्तरीकी बोल्न, अरूले बोलेको राम्ररी बुझ्न र हिँड्डुल गर्नसमेत कठिनाइ भएकी २० वर्षीया युवती बलात्कृत भइन् । छोरीलाई आफूले सुरक्षित राख्न नसक्ने भन्दै बाबुआमाले संरक्षण गरिदिन अधिकारकर्मीहरुसँग याचना गरे । अधिकारकर्मीहरुले सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) मा राख्न पहल गरे । उनलाई बस्न सहज हुने खालको अपांगतामैत्री (संरचना र सञ्चार पहुँच भएको) सेफ हाउस नपाएपछि महोत्तरी अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा स्वास्थ्य जाँच गरेर सिधै घर पठाइयो ।
‘महोत्तरीमा अपांगमैत्री सेफ हाउस नभएर राख्न सकिएन, कोभिड र निषेधाज्ञाले गर्दा काठमाडौं ल्याउन पनि सम्भव भएन, घर पठाउनुको विकल्प रहेन,’ घटनाबारे जानकार ओरेककी महोत्तरी जिल्ला कार्यक्रम अधिकृत लीला दियालीले भनिन्, ‘घरमा बाबुआमाले उनलाई हेरेर बस्न नभ्याउने, अझै पनि दोषी पत्ता नलागेको अवस्थामा उनी झन असुरक्षित छिन् ।’
संविधानको मौलिक हकअन्तर्गत ‘अपराध पीडितको हक’ मा भनिएको छ, ‘अपराध पीडितलाई कानुनबमोजिम सामाजिक पुन:स्थापना र क्षतिपूर्तिसहितको न्याय पाउने हक हुनेछ ।’ उल्लेखित प्रतिनिधि घटनाले यौनहिंसापीडित अपांगता भएका महिलाहरु थप असुरक्षा हुने थाहा हुँदाहुँदै पनि मैत्रीपूर्ण सेफ हाउस नहुँदा घरैमा बस्न बाध्य छन् । जो शारीरिक अशक्तता र अपांगता भएकै कारण सामाजिक पुन:स्थापना र क्षतिपूर्ति सहितको न्यायबाट बञ्चित छन् ।