बीरगन्ज । पर्सा जिल्लामा भूमीहीन सुकुम्वासीको वास्तविक तथ्यांक एवं लगत राख्न आवश्यक तयारी अघि बढाउन सुरु गरिएको छ ।भूमी सम्बन्धी समस्या समाधान आयोग पर्साले भूमिहीन दलित, भूमिहीन र अव्यवस्थित रुपमा बसोवास गरिरहेकाहरुको वास्तविक तथ्यांक संकलन गर्दै उनीहरुलाई भूमी उपलब्ध गराउन आवश्यक तयारी अघि बढाएको हो ।
आयोगले यसैको तयारीका लागि बिहीबार जिल्लाका १४ वटै पालिकाका प्रतिनिधि तथा अमिन र आइटी अफिसरहरुलाई लगत संकलन कसरी गर्ने भन्ने बारेमा आवश्यक जानकारी दिइएको भूमी आयोग पर्साका विज्ञ सदस्य शिवजी गुप्ताले बताए ।कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका अधिकारी छविरमण भट्टराईले र विज्ञ सदस्य शिवजी गुप्ताले प्रस्तुतिकरण दिएका थिए।
पहिलो चरणमा सहजीकरण समिति गठन गर्ने, लगत संकलन गर्ने, भूमीहीनको पहिचान गर्ने र प्रमाणीकरण गरेर जिल्ला समितिलाई पठाउने लगायतका विषयमा कार्यक्रममा योजनाहरु प्रस्तुत गरिएको थियो ।भूमी सम्बन्धी समस्या समाधान आयोग पर्साकी अध्यक्ष बिना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद अन्सारी रहेका थिए ।कार्यक्रममा स्वागत मन्तब्य बिमल पौडेलले दिएका थिए भने निसा दाहालले सहजिकरण गरेकी थिइन् ।