रौतहट। रौतहटमा बोक्सीको आरोपमा एकजना वृद्धामाथि कुटपिट भएको छ ।जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ बस्ने ६५ वर्षीय श्रीपती देवीलाई उनकै छिमेकी सन्दिप महरासहितको समूहले बोक्सीको आरोपमा मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित परिवारका सदस्यहरुको आरोप लगाएका छन ।शनिबार आफ्नो घरबाट शिवनगरस्थित महादेव मन्दिर जानेक्रममा बाटोमा सन्दिप र उनका साथमा रहेका केही अन्य व्यक्तिले श्रीपतीलाई धारिलो हतियार र भाटाले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।कुटपिटबाट श्रीपतीको टाउको, हात, कान लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको पीडित परिवारले जनाएका छन । प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग भएको भाटाको बन्डल बरामद गरेको छ ।
श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानीयवासीले देखेर उद्धार गरी चन्द्रपुर–४ स्थित सिभिल अस्पतालमा लगेका थिए । हाल सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।
श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि नै उनलाई सन्दिपको परिवारले बोक्सी भन्दै मानसिक यातना दिने गरेको पीडित परिवारको आरोप छ ।