वीरगन्ज । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ संस्करण भुर्चअल रूपमा सुरु हुने भएको छ । अमेरिकाको म्यारिल्यान्ड राज्यमा भौतिक रूपमा आयोजना हुँदै आएको यो महोत्सव कोरोना महामारीका कारण यस वर्ष भर्चुअल्ली आयोजना गर्न लागिएको हो ।
महत्सव यही जुन महिनाको १७ देखि २० तारिखसम्म चल्ने छ । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरू प्रदर्शन हुने आयोजकले जनाएको छ ।
जुनको १७ तारिक बिहीबार साँझ भर्चुअल रूपमा चलचित्र महोत्सवको उद्घाटन भएर २० तारिक आइतबार साँझ समापन समारोह तथा पुरस्कार वितरण हुनेछ । महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत निशुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ ।
नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रूपमा रहेका छन् । महोत्सवमा आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।
कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएपनि साउथ एसियन फिल्म फेस्टिभलहरूको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । २०२१ को संस्करण भने भर्चुअल रूपमा हुँदैछ ।
निःशुल्क चलचित्र हेर्न याे लिङ्कमा क्लिक गरेर हेर्न सकिने छ ।