वीरगंज । भव्य संरचना र आवश्यक उपकरण हुँदा पनि जिल्लाको दोस्रो सदरमुकाम मानिने पोखरिया नगरपालिकास्थित जिल्ला अस्पताल अस्तव्यस्त छ । हाल अस्पतालको २ तल्ले भव्य भवन छ ।
अस्पतालका कोभिड फोकल पर्सन कृष्ण पटेलका अनुसार कुल २५ शय्या राखिएकोमा कोभिड दोस्रो लहरमा जम्मा ४० जना भर्ना भए । तीमध्ये १५ शंकास्पद बिरामी थिए भने २५ पुष्टि भएका संक्रमित थिए । २५ मध्ये ५ जनालाई अस्पतालले रेफर गरेको थियो । २० संक्रमित निको भएर घर फर्के ।
शनिबार नै अन्तिम २ संक्रमित निको भएर घर फर्केको पटेलले बताए । जिल्लाको मध्यमा रहेको तथा ग्रामिण भेगका अधिकांश गाउँपालिका तथा नगरपालिकाका बिरामीका लागि पायक पर्ने यो अस्पताल हालसम्म पनि बिरामीको विश्वासिलो बन्न सकेको छैन ।
अस्पतालमा औषधिको अभाव हुने, प्रयोगशाला पनि नियमित सञ्चालन नहुने, उपकरणहरू भए पनि तिनलाई सन्चालन गर्ने जनशक्ति नहुने र त्यस्ता उपकरण बिग्रिए समयमा मर्मत सम्भार गरेर पुनः सञ्चालन नहुने समस्या रहेको छ ।