लण्डन (एजेन्सी)। कोरोनाकालमा विश्वका धनी ७ देशहरुको समूह जी सेभेनको शिखर सम्मेलन आइतबार बेलायतको कर्नवालमा सम्पन्न शिखर सम्मलेपछि जारी वक्तव्यमा जी सेभेनका मुलुकहरुले चीनको कडा आलोचना गरेका छन्।हङकङलाई स्वायत्तता दिनुपर्ने, वीगर मुसलमानको मानवअधिकार, ताइवान प्रकरण र कोरोना भाइरसको उत्पत्तिलाई लिएर जी सेभेनका मुलुकहीबीच एकजुटता देखिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन, जर्मन चान्सलर एंगेला मर्केललगायतले चीनको आलोचना गरेको बीबीसीले उल्लेख गरेको छ।
यसरी विश्वका धनी मुलुकहरुले एक स्वरमा चीनको आलोचना गरेपछि चीनले पनि त्यसको कडा जवाफ दिएको बीबीसीले जनाएको छ। लण्डनस्थित चिनियाँ राजदूतले जी सेभेनका मुलुकहरुले जारी गरेको वक्तव्यको आलोचना गरेका छन्। उनले विश्वका केही मुलुकले विश्वभरका मानिसहरुको भाग्यबारे फैसला गर्न नसक्ने बताएका छन्। उनले यसरी केही मानिसले विश्वभरका मानिसका लागि फैसला गर्ने दिनहरु गइसकेकोसमेत बताएका छन्। उनले गरिव वा धनी, शक्तिशाली वा कमजोर ठूलो वा सानो जे भए पनि सबै मुलुक आफ्नो तरिकाले विकास गर्न स्वतन्त्र रहेको उनले बताएका छन्।उता जी सेभेनले चीनविरोधी मुलुकहरुको संख्या बढाउन मध्यम आय भएका र गरिव मुलुकहरुमा विकास निर्माणमा सहयोग गर्ने योजनासमेत अगाडि सारेका छन्। तर, त्यो सहयोग कसरी गर्ने भन्ने विषयमा यकिन भइनसकेको जर्मन चान्सलर एंगेला मर्केलले बताएकी छन्।
यस्तै जी सेभेन मुलुकले कोरोनाविरुद्धको लडाइँमा उपयुक्त गर्न गर्न नसकेको भन्दै आलोचना पनि शुरु भएको छ। बेलायती पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले जी सेभेन शिखर सम्मेलनले मौका गुमाएको प्रतिक्रिया दिएका छन्। उनले विश्वलाई ११ अर्ब डोज खोपको आवश्यकता भएकोमा मात्र १ अर्ब डोजेको घोषणा गरेको भन्दै आलोचना गरेका छन्। यस्तै पुनःउत्थानका लागि विश्वलाई ५० अर्ब डलर आवश्यक रहेकोमा मात्र ५ अर्ब डलरको योजना बनाइएको भन्दै आलोचना गरेका छन्।उनले जी सेभेनको शिखर सम्मेलन हुँदा संसारको नजर त्यसतर्फ रहेको र सो समूहसँग शक्ति पनि रहेको तर, सही निर्णय हुन नसकेको बताएका छन्।