वीरगन्ज । पेट्रोलियम व्यवसायीहरूले पनि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारलाई दबाब दिएका छन् ।पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई खोप छिटो उपलब्ध गराउन माग गरेको हो । एसोसिएसनले खोप उपलब्ध नगराए वितरण प्रणालीमा असहजता उत्पन्न हुने चेतावनी पनि दिएको छ ।
पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको व्यवस्थाका लागि पटक-पटक आग्रह गरिए पनि सुनुवाइ नभएको एसोसिएसनले जनाएको छ ।एसोसिएसनले खोपको माग गर्दै वाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनलाई सर्मथन पनि गरेको छ ।
‘यस क्षेत्रका कर्मचारी र श्रमिकको जीवन रक्षाका लागि सांकेतिक रुपमा ट्यांकर चालकले गरेको आन्दोलनमा एसोसिएसनले नैतिक समर्थन जनाउँछ,’ महासचिव विश्वप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।