हेटौंडा | हेटौंडामा जुवाखालबाट पक्राउ परेका पाँचजना र अन्य एकजना मिलेर एक किशोरीलाई जबर्जस्ती करणी गरेको खुलेको छ । पीडित किशोरीसहित ६ जना हेटौँडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित पक्राउ परेका थिए ।
पक्राउपछि सोधपुछका क्रममा ती किशोरीले आफूसँगै पक्राउ परेका पाँचजना र अन्य एकजना मिलेर बन्धक बनाई जबरजस्ती करणी गरेको बयान दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जुवा खालबाट पक्राउ परेका पाँचजना र अन्य एकजनामाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ ।
किशोरीले आफूलाई बन्धक बनाई जबरजस्ती करणी गरेको उजुरी दिएपछि उनीहरुमाथि मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।पक्राउ परेका ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र ४४ वर्षीय सुरेश पौडेललाई सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।