वीरगन्ज । वर्षा याम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।
‘अब एक दुई दिनभित्रमै मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखिएको छ,’ मौसमविद् पौडेलले बुधबार बिहान नेपालखबरसँग भने, ‘हामी निरन्तर अध्ययनमा छौं, भरे/भोलिसम्म यस विषयमा बुलेटिन जारी गर्छाैं होला।’
उनका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ। दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागासकार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ।
यसपटक अधिक वर्षा हुने भनेर आफूहरूले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेको बताउँदै मौसमविद् पौडेलले बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न आवश्यक भएको बताए।
‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि,’ उनले भने, ‘यस्ता विषयमा पहिले ध्यान दिन सक्यौं भने क्षतिबाट बच्न सकिन्छ।’