पर्सा । अधुरो र गुणस्तरहीन हुलाकी सडक हस्तान्तरण गरिएको २ महिनामै भास्सिन थालेको हो । हस्तान्तरण गरिएको २ महिना पनि नबित्दै हुलाकी सडकअन्तर्गत सुवर्णपुर–ठोरी सडक खण्ड ठाउँठाउँमा भास्सिन थालेको छ । गत साताको वर्षाकै कारण उक्त सडक खण्डमा धाँजा फाट्न र भास्सिन थालेको हो ।ठोरीको वनशक्तिनजिक सडकको साइड सोल्जर बगाएर कालोपत्रे नै दब्न लागेको छ । सडक हस्तान्तरणको शिलालेख अगाडि नै सडक छेउको सोल्जर बगाएर कालोपत्रे नै बगाउने अवस्थामा पुगेको छ । नाला १ र नाला २ खोलाको पुलनजिक पनि सडक भास्सिन लागेको छ । ठारी ४ निर्मलबस्तीमा सडकको साइड सोल्जर बगाउनुका साथै सडकमा धाँजा फाटेको छ ।
त्यहाँ समयमा नै मर्मत नगरिए जुनसुकै बेला सडक भास्सिने खतरा छ, जसले सडक दुर्घटना हुने सम्भावना बढेको छ । उक्त खण्डमा रहेको आधा दर्जन बढी खोलाको पुल वरपरको सोल्जरमा पानीले क्षति पुगेको छ ।यसअघि अधुरो हुलाकी सडक हस्तान्तरण गरिएको विरोधमा रहेका स्थानीय अब क्षति हुन थालेपछि संघर्षको तयारीमा छन् । स्थानीय माधव तिमल्सेनाले विगतमै ठेकेदार कम्पनीले करिब ५ किमि सडक अधुरै छाडेर सडक हस्तान्तरण गरेको बताए ।
त्यही सडक पनि क्षतिग्रस्त हुन थालेपछि स्थानीय चिन्तित र आक्रोशित रहेको उनी बताउँछन् । ‘ठोरीवासीले यो सडक निर्माणका लागि लामो समय प्रतीक्षा गरेका थिए, बल्लबल्लक सडक त बन्यो त्यो पनि अधुरो र गुणस्तरहीन,’ उनले भने, ‘अब ठोरीवासी ठूलै संघर्षमा उत्रने मनस्थितिमा छन् ।’ठेकेदार बानियाँ/कालिका ज्वाइन्ट भेन्चरको कम्पनीले चैतको दोस्रो साता यो सडक खण्ड निर्माण सम्पन्न भएको भनि साइटबाट पछि हटेको थियो । पर्सामा हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत सुवर्णपुरको चमरीदेखि ठोरीसम्म ३० किमि सडक खण्डमा विभिन्न स्थानमा गरी करिब ५ किमि ठेकेदार कम्पनीले निर्माण नगरी अधुरो छोडेको थियो ।
१ अर्ब १७ करोड रुपैयाँको यो सडक खण्ड निर्माणको ठेक्का सम्झौता २०७४ कात्तिक १३ गते गरिएको थियो । ठेकेदार कम्पनीले २०७७ जेठ २ सम्म काम सक्नुपर्थ्यो । तर लकडाउन तथा अन्य कारणले काम गर्ने वातावरण नभएपछि ठेक्काको म्याद थपिएको थियो ।ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले हाल नाला १ र नाला २ पुल नजिकको एप्रोच सडक भास्सिएर समस्या देखिएको स्विकारे । हाल ती स्थानमा सडक भास्सिएका र धाँजा फाटेका स्थानमा पिच हटाएर ग्राभेल राखिने र वर्षा पछि अवस्था सुधार गरेर कालोपत्रे गरिने उनले बताए । ‘दुवै पुलको मुखबाट पानी सिपेज भएर सडकमा क्षति पुग्न गएको हो, ठेक्का सम्झौताअन्तर्गत हाम्रो २ वर्षको मर्मत अवधि बाँकी नै छ,’ उनले भने, ‘हामी त्यसैअनुरूप काम गर्न प्रतिबद्ध छौं ।’