वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन गरेकी छिन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार राति नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
तीन उपप्रधानमन्त्रीसहितका मन्त्रीलाई राष्ट्रपतिले शीतल निवासमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । यस्तै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री केपी ओलीले दुई राज्यमन्त्रीलाई पनि शपथ ग्रहण गराए ।
ओलीले आफ्नो मन्त्रीपरिषद्मा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त कुमार नेम्वाङलाई मात्रै निरन्तरता दिएका छन् । जसमा पौडेल बढुवा भएर उपप्रधानमन्त्रीसहितको दोस्रो वरियताका मन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले जसपासहितलाई समेटेर मन्त्रिमण्डल पुनर्गठनको सिफारिस गरेका थिए ।
ओली सरकारमा विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । यस्तै राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्रमन्त्री बनेका छन् ।
यसैगरी शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री, कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री, वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री, लीलानाथ श्रेष्ठ कानून न्याय तथा संसदीय मामिलामन्त्री, शरत सिंह भण्डारी ऊर्जामन्त्री बनेका छन् ।
यसैगरी अनिल झा खानेपानी तथा सरसफाई, विमल श्रीवास्तव श्रम तथा रोजगार मन्त्री, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्थामन्त्री, चन्दा चौधरी महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, एकवाल मियाँ, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
यस्तै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी छिन् ।
यस्तै प्रधानमन्त्रीले रक्षा, गृह, सञ्चार, कृषि, उद्योग वाणिज्य, वन तथा वातावरण र सामान्य प्रशासन मन्त्रालय आफैसँग राखेका छन् ।
नवनियुक्त मन्त्रीहरुले शपथ लगत्तै आजै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।