वीरगन्ज । नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्ना माग पुरा गर्न सरकारमा गएको बताएका छन् । उपप्रधान तथा शहरी विकास मन्त्रालयको पदबहाली पछि कुरा गर्दै महतोले आन्दोलनका केही माग सम्बोधन भएका र केही माग बाँकी रहेको बताए । उनले संसद विघटनको मुद्दा सर्वोच्चमा चलिरहेको र त्यो अदालतको विषयवस्तु भएकोले चलिरहने बताए ।
उनले भने, ‘हामी आफ्नो माग मुद्दाका लागि सरकारमा ज्वाइन गरेका हौँ । आन्दोलनका केही माग मुद्दामा सम्बोधन भएका छन् । केही बाँकी छ । मुख्य रुपले जनताको माग र मुद्दा हो । त्यसकै लागि सरकारमा सहभागी भएका छौं । त्यसैले अदालतले के भन्छ त्यो हाम्रो सरकारको विषय होइन ।’
महतोले जति दिन आफुहरु सरकारमा रहिन्छ माग र मुद्दामा केन्द्रीत रहेर काम गर्ने बताए । उनले देशमा वैकल्पिक शक्ति निर्माण गर्ने विषयलाई पार्टीको एजेण्डा बनाउने बताए । उनले भने, ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग र मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने तयारी गरेका छौं ।’ उपेन्द्र समूहलाई आफ्नो केही भन्नु नभएको बताए । महतोले भने, ‘जो जो सहमत छैनन्, असहमति व्यक्त गर्न सक्छन् केही छैन ।’