वीरगन्ज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गरेका छन्। चुरे क्षेत्रको ढुंगा गिटी बिक्री गरेर व्यापार घाटा न्यून गर्ने विषय सच्याउन आग्रह गरेका हुन्।एक वक्तव्य जारी गर्दै राउतले यस्तो कार्य तत्काल नरोकिए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने चेतावनी दिएका छन्।प्रदेश नं. २ को सप्तरीदेखी पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको रक्षा कवचको रुपमा रहे उनले बताएका छन्।
‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ। कमजोर भू–बनौटका कारण यहाँका ढुँगा, गिटी निकालियो भने नदीको बहाव तीव्र हुने र तीव्र बहावले बगाएर ल्याउने बालुवा मधेशमा थुप्रिदै जाने प्रायः निश्चित नै छ’, उनले भनेका छन्, ‘चुरे क्षेत्र बालुवा गिट्टीको स्रोत मात्र नभई प्राकृतिक सम्पदामा समेत धनी छ।’प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदाले आफ्नो वासस्थान गुमाउने निश्चित रहेको उनले बताएका छन्।
‘नेपाल सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश नं. २ बाट ढुँगा, गिटी, बालुवा उत्खन्न गर्ने योजनाले देशकै अन्न भण्डरको रुपमा रहेको प्रदेश नं. २ को सम्पूर्ण भू–भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित छ’, वक्तव्यमा भनिएको छ।वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणको साथै प्रदेश नं. २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्य प्रति प्रदेश सरकार सजग रहेको उनले बताएका छन्।