वीरगन्ज । कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो लहरका उच्च बिन्दुमा पुगेर अहिले संक्रमण दर घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर के साँच्चिकै घटेको हो त ? अहिले यो धेरैले सोध्ने मध्येको एक प्रश्न हो । कतिपयले परीक्षणको दायरा कम गरेका कारण संक्रमण घटेको तर्क गरिरहेका छन् ।स्वास्थ्य मन्त्रालयले भने देशका विभिन्न जिल्लाहरूका गरिएको ३५/४० दिनको निषेधाज्ञाले संक्रमण दर घटाएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता प्राध्यापक डा. समीरकुमार अधिकारीले दैनिक गर्ने प्रेस ब्रिफिङमा पनि अहिले कोरोनाको संक्रमण दर घटेको बताइरहेका छन् ।स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने बुधवार (२०७७ जेठ १८) गते ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुने ६८ जना छन् । भने निको भएर जानेको संख्या संक्रमण हुने भन्दा धेरै ६ हजार ८९८ देखिन्छ ।
तर करीब १५ दिन अगाडि अर्थात् जेठ ५ गते ८ हजार १८३ मा संक्रमण पुष्टि भएको थियो भने २४६ जनाको कोरोना भाइरसको संक्रमणका कारणले ज्यान गुमाएका थिए ।त्यसपछि लगातार संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएपछि अहिले संक्रमण घटेको स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ ।अहिलेसम्म कोभिड १९ का कारणले ७ हजार ५५५ जनाले ज्यान गुमाइसकेका छन् ।५ लाख ७१ हजार १११ जना संक्रमित छन्, भने १ लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।