वीरगन्ज । कोरोना भाइरस महामारीका कारण विश्वभर रोजगारीको क्षेत्रमा आएको संकट अझै लामो समय रहने अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ)ले विश्वमा महामारीका कारण लाखौं मानिसको जागिर गएको र नयाँ रोजगारीका अवसरहरु सिर्जना हुने अवस्था बन्न नसकोेको भन्दै यस वर्ष महामारीका कारण रोजगारी गुमाउनेको संख्या करिब ७.५ करोड पुगेको जनाएको छ।
आईएलओका निर्देशक गाय राइडले भने, ‘हाम्रो आकलन छ कि, २०२२ सम्म पूरै विश्वमा बेरोजगारीको आँकडा २०.५ करोडसम्म पुग्न सक्छ। महामारी सुरु हुनु भन्दा पहिला यसको तुलना गर्ने हो भने २०१९ मा यो आकडा १८.७ करोड थियो।’उनले सबै देशको स्थिति समान भने नहुने बताए। धनी देशले यससँग जुध्न सक्ने भएपनि गरिब देशमा असमानताका कारण महिला र युवाको रोजगारीमा धेरै असर पर्नेछ।
राइडका अनुसार महामारीका कारण लाखौं मानिसको रोजगारी गुम्दा गरिबी पनि बढिरहेको छ र उनीहरुको सामाजिक सुरक्षा पनि कम भएको छ। एक आकलनका अनुसार २०१९ को तुलनामा ३.१ करोड कामकाजी मानिसलाई निकै गरिब भन्न सकिने अवस्था बनेको उनले बताए। उनीहरु यस्ता मानिस हुन् जो संयुक्त राष्ट्र संघद्वारा निधारित १.९० डलर प्रति दिनको अन्तर्राष्ट्रिय गरिबी रेखाभन्दा तल छन्। गरिबी हटाउनका लागि अहिलेसम्म जे कामहरु भएका छन् महामारीका कारण त्यो पाँच वर्ष पछि परेको उनले बताए।