बिरगंज । एजेन्सी- पाकिस्तानले चीनको सहयोगमा कोरोनाविरुद्धको खोप तयार गरेको छ। पाकिस्तानले खोप निर्माणलाई ‘इन्कलाब’ अर्थात् क्रान्तिका रुपमा व्याख्या गरेको छ।पाकिस्तानका केन्द्रीय योजनामन्त्री असद उमरले यो खोप सार्वजनिक गर्दै पाकिस्तानको यो खोप कुनै क्रान्तिभन्दा कम नरहेको बताएका छन्।
उनले यो खोप निर्माणका लागि पाकिस्तानको स्वास्थ्य टिमसँगै चिनियाँ सहयोगीलाई पनि धन्यवाद दिएका छन्। साथै उनले पाकिस्तानमा जारी खोप अभियानमा आएका सहभागीका लागि चिनियाँ खोप सिनोफार्म पहिलो रोजाइमा परेको बताएका छन्।
असद उमरले भनेका छन्, ‘हाम्रा यहाँका नागरिक जब खोप केन्द्रमा जान्छन्, त्यहाँ उनीहरुले हामीलाई सिनोर्फामको खोप चाहियो भन्छन्।’ एस्ट्रेजेनेको खोप मात्र छ भने कतिपय खोप नलगाई फर्किने गरेकोसमेत उनले सुनाए।
उनले अब पाकिस्तानमा आफैले उत्पादन गरेको पाकभ्याकलाई प्राथमिकता दिइनु पर्ने बताए। मन्त्री उमरले भने, ‘अब हामीले आफ्नै खोपलाई प्राथमिकता दिनुछ, किनकी हामीले यो चीनसँग मिलेर बनाएका छौँ र यो क्रान्ति हो।’