बिरगंज । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विजयकुमार झाले अहिलेकै अवस्थामा कोरोना भाइरसकाे सङ्क्रमण घटेको भन्न नमिल्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा निर्देशक झाले परीक्षण घटेका कारण सङ्क्रमण घटेजस्ताे देखिए पनि जोखिम उस्तै रहेको बताउनुभयो ।
अहिले सङ्कलन गरिएका नमुनामध्ये ३० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएको भन्दै उहाँले परीक्षणको दायरा बढाउँदा सङ्क्रमितको सङ्ख्या पनि बढ्ने बताउनुभयो । यसअघि सहरी क्षेत्रमा सङ्क्रमण बढी फैलिएको र परीक्षणको पहुँच रहेकोमा अहिले गाउँगाउँसम्म सङ्क्रमण फैलिएको र त्यहाँ परीक्षणको पहुँच कम रहेको निर्देशक झाले बताउनुभयो ।
काेराेना सङ्क्रमणकाे फैलावटकाे अवस्था थाहा पाउन समुदायस्तरका ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले आफूहरूले गाउँगाउँसम्म एन्टिजेन किट पठाइरहेको भन्दै त्यसबाट नतिजा आउने बताउनुभयो ।
अहिले समुदायका घरघरमा कोरोना फैलिरहेको हुन सक्ने भन्दै उहाँले पालिकाहरूले आवश्यक समुदाय पत्ता लगाएर परीक्षण गर्नुपर्ने बताउनुभयो । डा. झाले यस बेला त्रास फैलाएर डर देखाउनुभन्दा सबैलाई भरोसा दिँदै सङ्क्रमित पत्ता लगाउनुपर्नेमा जाेड दिनुभयाे ।