मुम्बई । कोभिड–१९ संक्रमितहरूमा कमजोरीको गुनासो बढ्दो छ । खासगरी कोरोना संक्रमणमुक्त भैसकेकाहरूले कमजोरी झनै बढेको महसुस गरिरहेका छन् । यसमा डाक्टरहरूले भने यो स्वभाविक भएको र यसका लागि खानेकुरा अनि औषधिमा ध्यान दिन भनिरहेका छन् ।
यस्तोमा बलिउडकी ‘योगा क्विन’ को रूपमा पनि चर्चित अभिनेत्री शिल्पा सेट्टीले योगको माध्यमबाट कमजोरीको समस्यालाई समाधान गर्ने उपाय सुझाएकी छन् । हालै अभिनेत्री शिल्पालो इन्स्टाग्राममा योगको एउटा भिडियो सेयर गरेकी छिन् । शिल्पाले ‘मन्डुकासन’ योगको विधि सेयरगर्दै यसलाई गर्ने तरिका पनि सिकाएकी छन् । शिल्पाको योगको यस भिडियोलाई धेरै प्रशंसकले हेरिरहेका छन् भने प्रतिक्रियाहरू पनि दिइरहेका छन् । उनले भिडियो सेयर गर्दै ‘मन्डुकासन’ को फाइदा पनि बताएकी छन् ।
“यो महामारीको समयमा सबैभन्दा महत्वपूर्ण भनेको आफ्नो स्वास्थ हो । यो आसन निकै महत्वपूर्ण छ । किनकि नाइटो तपाईको शरीरको केन्द्र हो, जुन तपाईको जीवन शक्तिको केन्द्र पनि हो । यसबाहेक, यसलाई दोस्रो दिमाग पनि भनिन्छ,” शिल्पा थप्छिन्, “यसले तपाईंलाई सबै किसिमको कमजोरीहरू विरुद्ध लड्न पनि शक्ति दिन्छ । महामारीको यस समयमा, सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूलाई सकारात्मक राख्नु र सकारात्मक रहन यो एकदमै महत्वपूर्ण छ ।”
‘फ्रग पोज’ बाट पनि चिनिने यस आसन पेटसँग सम्बन्धित रोगहरूका लागि पनि लाभदायक भएको शिल्पा जानकारी दिन्छिन् । योग कसरी गर्नेबारे सिकाउँदै शिल्पा भन्छिन्, “यो गर्नका लागि सर्वप्रथम बज्रासनमा बस्नुहोस् । त्यसपछि आफ्नो मुठ्ठी बाँध्नुहोस् र नाइटोको नजिक ल्यानुहोस् । मुठ्ठीलाई नाइटो र जांघको छेउमा यसरी राख्नुहोस कि मुठ्ठी ठाडो भएर औँलाहरू तपाईको पेटतर्फ होस् । साँस छोड्दै अगाडि निहुरिनुहोस, छातीलाई तल फिलासम्म छुनेगरी निहुरिनुहोस् । यसरी निहुँरिदा याद गर्नुहोस् कि तपाईले नाइटोलाई सक्दो दबाब दिइराख्नुभएको छ । टाउको घाँटी ठाडो बनाइराख्नुहोस्, र अगाडि सिधा हेरिरहनुहोस् । बिस्तारै स्वास तान्ने र फाल्ने गरिराख्नुहोस् र सकेसम्म लामो समयसम्म त्यही आसनमा बसिरहनुहोस् । त्यसपछि बिस्तारै स्वास तान्दै पहिलेकै नर्मल आसनमा फर्किनुहोस् । ”उनले भारतमा योग पद्धतिलाई बढावा दिनमा ठूलो भुमिका निभाएकी छिन् । शिल्पाले आफ्नै योग र डायटको किताबहरू पनि प्रकाशन गरेकी छिन् । नवभारत टाइम्स