वीरगन्ज । विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक मानवले पाइला टेकेको ६८ वर्ष पुगेको छ। दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन साबिक आठ हजार ८४८ मिटर अग्लो (हाल ८ हजार ८४८.८६ मिटर) सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए।
सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ। आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो।
सगरमाथामा मानव पाइला पुगेको उक्त घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाललाई सगरमाथाको देश भनेर संसारभर चिनायो। मानिसले सगरमाथा र नेपालको परिचयलाई जोडेर हेर्नसमेत थाले।
सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पुगेसँगै अहिलेसम्म झण्डै ९ हजार पर्वतारोहीले शिखर चुमिसकेका छन्। विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठवटा छन्।
यो वर्ष बसन्त ऋतुको सिजनमा ३०० सय भन्दा बढि आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन्। मौसममा आएको प्रतिकुलताका कारण अन्तिम चरणको आरोहणमा रहेका आरोहीहरु प्रभावित भएका छन्।
सगरमाथा आरोहणमा होडबाजीका साथै आरोहीले नयाँ कीर्तिमानसमेत थप्दै गएका छन्। त्यसमध्यको एक हुन कामी रिता शेर्पा। शेर्पाले सगरमाथाको २५ पटक आरोहण गरि नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।