जनकपुरधाम | धनुषाको क्षीरेश्वरवनाथ नगरपालिकाको महेन्द्रनगरस्थित कुचाई टोलमा एक हप्ताभित्र ५ जनाको मृत्यु भएको छ। आज मात्रै यस टोलमा दुई जनाको मृत्यु भएको छ। आज मृत्यु हुनेमा ६० वर्षीय राम सत सदा र ५५ वर्षीय सुगीया देवी छन्। उनीहरुको मृत्यु दुई घण्टाको अन्तरालमा भएको छ। यसअघि ६० वर्षीय सीतादेवी, २१ वर्षीय एक युवक र एक ७० वर्षीय बृद्धको मृत्यु भएको थियो।
यसरी गाउँमा लगातार मृत्यु भएपछि अहिले गाउँमा त्रास फैलिएको छ। पहिले मृत्यु सामान्य रुपमा देखिए पनि एक पछि अर्को गरि लगातार मृत्यु हुने क्रम चलेपछि गाउँलेहरु त्रसित छन्। मृत्यु हुनेहरु सबै पहिलेदेखि नै कुनै न कुनै रोगले ग्रसित भए पनि अहिले प्रायः ज्वरो, रुघा, खोकी र शरीर शिथिल भई मृत्यु भएको मृतकका आफन्तजनले जनाएका छन्।
स्थानीय रमेश खनालले मृत्यु हुनेहरु कसैको पनि कोरोना परीक्षण नभएको बताए। मृत्यु भए पनि काजक्रिया बाधा अवरोध हुने भन्दै परीक्षण गर्न कसैले पनि नमानेका खनालले बताए।
मृत्यु हुनेहरु कुचाईका दलित समुदायको मुसहर बस्तीका हुन्। दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने यी समुदायका व्यक्तिहरु करिब एक महिनादेखि निषेधाज्ञाका कारण काम नपाएर भोकभोकैजसरी बसेका थिए।त्यसमाथि पनि बिरामी भएपछि कमजोर भएर मृत्यु भएको हुन सक्ने त्यहाँका स्थानीय शिक्षक मीनबहादुर तामाङले शंका गरे। यस्ता गरिब दलित बस्तीमा राहत बन्दोबस्त गर्न स्थानीय सरकार तथा संघसंस्था उनले माग पनि गरे।