वीरगन्ज । भारतमा आएको चक्रवातको असर नेपालको मध्य तथा पूर्वी क्षेत्रमा पनि पर्न थालेको छ । बुधबारदेखि पूर्वी क्षेत्रमा हावाहुरी चल्न थालेको छ । भोलि जेठ १३ गते बिहिबारदेखि जेठ १५ गते शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना देखिएको छ । पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात (Very Severe Cyclonic Storm) यास् (YAAS) समुद्रबाट जमिन तर्फ प्रवेश गरिसकेको छ र उक्त चक्रवात उत्तर-उत्तरपश्चिम सर्ने क्रममा छ। त्यसले केही दिन नेपालको मौसममा असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार २०७८ जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बाग्मती र लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना छ। कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना देखिन्छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली/ उच्च पहाडी भूभागका केहि स्थानमा हल्का देखि मध्यम हिमपात/वर्षा हुनसक्छ ।
यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारतमा आएको चक्रवातको असर नेपालमा कस्तो पर्ने आँकलन गरेको छ र त्यसका लागि कस्तो तयारी गरेको छ भन्नेबारे रातोपाटीले प्राधिकरणका उपसचिव एवं प्रवक्ता लीलाधर अधिकारीसँग संक्षिप्त कुराकानी गरेको छ ।
प्रस्तुत छ, अधिकारीसँगको कुराकानीको सम्पादित अंश–
वर्षाको मौसम सुरु हुँदैछ, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा कस्तो तयारी भएको छ ?
– हामीले सबै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेका छौं । केन्द्रमा पनि विभिन्न निकायसँग समन्वय गरिरहेका छौं । पूर्वतयारी र प्रतिकार्य योजना अध्यावधिक भएको छ । विपद्को बेलामा को कसरी परिचालित हुने भन्नेबारे पनि लेखाजोखासहित तयारी भएको छ । त्यही अनुसार जिल्लाहरुमा निर्देशन दिएका छौं ।
बाढीको पूर्वसूचना प्रणाली यो वर्ष थप ठाउँमा विस्तार भएको छ । यो प्रणालीले बाढीबाट हुने क्षति न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस्तै, सञ्चारमाध्यमलाई प्रयोग गरेर जनतामा जोखिमबारे पूर्वसूचना प्रवाह गर्ने, यसका लागि स्थानीय भाषामा प्राकृतिक विपद्सम्बन्धी सूचना बनाएर प्रकाशन, प्रशारणको काम पनि प्राधिकरणले गरेको छ ।
विपद् व्यवस्थापनमा स्थानीय निकायको भूमिका पनि निकै महत्त्वपूर्ण हुने गर्छ । प्राधिकरणले स्थानीय तहहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य योजना बनाउन सहयोग गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु पनि यसमा परिचालन भइरहेका छन् ।
जिल्लाहरुसँग समन्वय गरेको त भन्नुभयो, कोरोना संक्रमणको समयमा बाढी, पहिरो, डुबानजस्ता विपद् प्रतिकार्य योजनामा काम गर्नु कति सहज होला ?
– कोभिडको दोस्रो लहरले खोज, उद्धार र राहत वितरणको काममा चुनौती त थपेको छ नै, तर कोभिडको समयमा कसरी काम गर्ने भनेर हामीले कृत्रिम घटना अभ्यासमा पूर्वतयारी गरेका छौं ।कोभिडको वातावरणमा स्वास्थ्य मापदण्ड पालना गर्ने, आफू पनि सुरक्षित भएर अरुलाई सुरक्षित तुल्याउन के कसरी काम गर्ने भन्नेबारे स्थानीय तहलाई सचेतना अभिवृद्धिका काम पनि गरिरहेका छौं ।
खुला स्थानहरु पहिचान गरिएका छन् । कोभिडको जोखिमकाबीच खुला स्थानमा जथाभावी मान्छे जम्मा गरेरमात्र भएन, उद्धार गरिएका मानिसलाई विद्यालय भवन वा कुनै सामुदायिक भवनमा राख्नुपर्ने अवस्था हुन सक्छ । त्यो अवस्थामा स्वास्थ्यको मापदण्ड पालना गर्ने तथा खोज, उद्धार तथा राहत वितरणकर्ता आफैं पनि संक्रमणबाट बच्नुप¥यो र उहाँहरुले पनि प्रोटोकल पालना गर्नुप¥यो । विपद् प्रभावितले पनि त्यसरी नै प्रोटोकल पालना गर्नुपर्ने हुन्छ ।
भारतमा लगातारजस्तै दुईवटा चक्रवात आयो, पहिलो चक्रवातको असर नेपालमा त्यति नदेखिए पनि दोस्रोको असर देखिन थालेको छ, नेपालको सन्दर्भमा यसको असर कति घातक बन्न सक्छ ?
भारतमा केही दिनअघि आएको आँधीको तुलनामा अहिलेको चक्रवातले नेपालमा धेरै प्रभाव पार्न सक्ने भनेर जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरिसकेको छ । त्यसको आधारमा हामीले पनि हाम्रा संयन्त्रलाई सचेतता अपनाएर तयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौं ।
आँधी रोक्न सकिने त होइन तर मानिसलाई सचेत तुल्याउने, सम्भावित जोखिम क्षेत्रमा पूर्वतयारी गर्ने र खोज, उद्धार तथा राहतका लागि चनाखो भएर बस्न हाम्रा सबै संयन्त्रलाई निर्देशन दिइएको छ ।
देशको पूर्वी भागमा बुधबारदेखि आँधी चलेको छ, भारतमा आएकै चक्रवातको असर हो त्यो ?
– हो, भारतमा आएको चक्रवातले नेपालको पश्चिमी क्षेत्रमा खासै असर नगर्ने तर मध्य तथा पूर्वी भागमा त्यसको असर देखिने भनेर मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरिसकेको थियो ।
पूर्वी भेगमा बुधबारदेखि नै त्यसको असर देखिएको भन्ने छ । यसको प्रभाव अस्वाभाविक रुपमा पर्न सक्ने भनेर पहिला नै आँकलन भइसकेको हो । त्यसैले पर्वतारोहणमा गएका टोलीलाई पनि फर्कन वा सुरक्षित रहन सावधान तुल्याइसकेको अवस्था छ । जिल्लाजिल्लामा रहेका विपद् प्रतिकार्य समूहलाई तयारी अवस्थामा रहन भनिएको छ । सर्वसाधारणलाई पनि नदी तटीय क्षेत्रमा नजान, नबस्न तथा बाढी, पहिरोको सम्भावित जोखिम क्षेत्रमा रहेका बस्तीमा सावधानी अनपाउन भनेर सूचित गरिसकेको अवस्था छ ।यो आँधीको असर तीन दिनसम्म देखिने भनिएको छ, त्यसैले हामी यसमा पूर्वतयारीका साथ सतर्क भएर बसेका छौं ।
कस्तो पूर्वतयारी ?
– जोखिमका सम्भावित क्षेत्रमा सबैलाई सचेत तुल्याउने, खोज उद्धार र राहतका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई अलर्ट राख्ने काम भएको छ । त्यस्तै, पहाडमा भू–क्षय र पहिरो एवं तराईमा बाढी आउन सक्ने सम्भावना दृष्टिगत गरी हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न सरकारी एवं गैरसरकारी निकास र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा राख्न सूचित गरिएको छ ।
कुन क्षेत्र बढी प्रभावित हुने आँकलनका साथ पूर्वतयारी गरिएको छ ?
– सुदूरपश्चिममा यसले खास असर गर्दैन भन्ने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३, १४ र १५ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने आँकलनका साथ पूर्व तयारीमा ध्यान दिन विभिन्न संयन्त्रलाई सूचित गरिएको छ ।
मनसुनको सिजन पनि हुन लाग्यो, अब प्राकृतिक विपद् तथा प्रकोप बढ्ने समय आउँदैछ । यसका विरुद्ध पूर्वतयारी कस्ता छन् ?
विपद् बाजा बजाएर आउने होइन भनिन्छ । त्यसैले पनि विपद्का लागि हामी हमेसा पूर्वतयारीका साथ बस्नुपर्छ ।अहिले विकसित विभिन्न प्रविधि र वैज्ञानिकहरुको अध्ययन अनुसन्धानका आधारमा कतिपय कुराहरु हामी आँकलन गर्न सक्छौं । जस्तोकि, हालैमात्र भारतमा दुईवटा शक्तिशाली आँधी आए । भारतले आफ्नो संयन्त्रबाट त्यस्ता विपद् आउनु अघि नै त्यसबाट प्रभावित हुने क्षेत्रको आँकलन गरिसकेको थियो । त्यसको आधारमा हामीले पनि सम्भावित जोखिमबारे प्रक्षेपण गर्छौं ।
भारतमा केही दिनअघि आएको आँधीको तुलनामा अहिले आइरहेको आँधीले नेपालको केही भागलाई पनि प्रभावित पार्न सक्छ भनेर पूर्वानुमान भएकै हो । सोहीअनुसार अहिले नेपालको मध्य तथा पूर्वी भागमा हुरी चलेको छ ।हामीले मौसम विज्ञान विभागले दिएको सूचनालाई विश्लेषण गरेर नै कुन ठाउँमा हावाहुरीको जोखिम छ, कता बाढीपहिरोको जोखिम हुन्छ भन्ने आँकलन गर्दछौं र सम्बन्धित क्षेत्रमा आफ्ना संयन्त्रलाई सचेत तुल्याउने हो ।