वीरगन्ज । पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिबाट संविधानको ठाडो उल्लंघन भएको दाबी गर्दै अदालतले न्याय गर्ने विश्वास व्यक्त गरेका छन् ।राष्ट्रपति जस्तो संवैधानिक पद धारण गरेको व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा संविधान उल्लंघन गर्न नमिल्ने देउवाले बताए ।
कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनले गरेको भर्चुअल कार्यक्रममा देउवाले प्रधानमन्त्रीसँगै राष्ट्रपतिबाट पनि संविधानको ठाडो उल्लंघन भएको दाबी गरे ।
‘राष्ट्रपतिले राति २ बजे प्रतिनिधिसभा विघटन गर्नुभयो, नहुने कुरा गर्नुभयो । राष्ट्रपति जस्तो सम्मानजनक व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा मान्ने कुरा थिएन । प्रधानमन्त्रीले त संविधानको ठाडो उल्लंघन गरे, राष्ट्रपतिबाट पनि भयो । अदालतले न्याय गर्नेछ भन्ने कुरा विश्वास छ,’ देउवाले भने ।
देउवाले संविधानको धारा ७६ को ५ ले पार्टी नभइ प्रतिनिधि सभाको सदस्य भनेको दाबी गरे । ‘बहुमतभन्दा बढी सदस्यको सहीछापसहित राष्ट्रपतिकोमा बुझाएका थियौं । मान्छे बोलाएर हो होइन भनेर गर्न सक्नुहुन्थ्यो,’ देउवाले भने ।कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकारले संविधान मिचेर अलोकतान्त्रिक काम गरिरहेको आरोप लगाए ।