वीरगन्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सङ्क्रमणको सम्बन्धमा चीन सरकारले दिएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभएको छ । बुधवार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले नेपाल र चिनका राजनीतिक दलसँग महामारीका बेला संयुक्त रूपमा अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, खाेप र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको हो ।
कोभिडविरुद्धको खाेपमा चीनले प्राप्त गरेको सफलताको पनि उपप्रधानमन्त्री पाेखरेलले प्रशंसा गर्नुभएकाे छ । उहाँले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताउनुभयो ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु खुसीको कुरा भएको बताउनुभयो । नेपालको हिमाल, नदी र संस्कृतिसँग दुई देशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड–१९ महामारीका कारण अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री अभाव भइरहेका बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले महामारी नियन्त्रणमा चीनबाट नेपालले सिक्नुपर्ने बताउनुभयो ।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई देशबीच असल मित्रताको सम्बन्ध रहेको बताउनुभयो । चीनले सधैँ नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दै महामारीको बेलामा उपलब्ध गराएको खोपलगायत स्वास्थ्य सामग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि खोपलगायत स्वास्थ्य सामग्रीमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले पछिल्लो पटक चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिन्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताउनुभयो ।
उहाँले लकडाउनको समयमा पनि राष्ट्रिय गौरवका आयोजनाको काम कम प्रभावित होस् भन्नेमा ध्यान पुर्याएकाे र काम भइराखेकाे बताउनुभयो ।यस्तै चीनले अघि सारेको बीआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष बितिसकेको उल्लेख गर्दै उहाँले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे ।