वीरगन्ज । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रण सूक्ष्म योजना माइक्रो कन्टेइन्मेन्ट प्लानको खाका तयार पारेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सक्रिय संक्रमितको खोज, पड्ताल, तिनीहरुको परीक्षण र उचित व्यवस्थापनका लागि योजना तयार पारेको हो ।नेपालमा कोभिड संक्रमण उच्च भएपछि मन्त्रिपरिषद्को गएको वैशाख ६ गतेको निर्णयानुसार ‘नयाँ भेरिएन्टसहितको कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८’ जारी गरेको थियो ।
यस्तो छ योजना
सरकारले तयार पारेको सूक्ष्म योजना परिवार, टोल, अपार्टमेन्ट तथा आवासीय क्षेत्र, वडा तथा पालिकास्तरमा लागु गर्ने सरकारको योजना छ । योजनाअनुसार परिवारका कुनै एक सदस्यलाई संक्रमण देखिएमा परिवारका सबै सदस्य क्वारेन्टिनमा बस्नुपर्नेछ । लक्षण नदेखिएको हकमा फेरि पाँच दिनपछि परीक्षण गराउनुपर्नेछ । नतिजा जे देखिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था यो योजनाले गरेको छ ।
वीरगन्ज । यसरी क्वारेन्टिनमा बस्दा आवश्यक औषधि तथा खाद्यपदार्थ उपलब्ध गराउन टोल–टोलमा सहजीकरण समूह गठन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।त्यसैगरी, सहरी टोलमा सात वा ग्रामीण टोलमा पाँचभन्दा बढी घरमा कोभिड संक्रमित भेटिए सो टोल ‘सिल’ गरिनेछ भने टोलका सबै बासिन्दा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था योजनामा समेटिएको छ । साथै, टोलका सबैले संक्रमित देखिएको पाँचौँ दिनमा एन्टिजेन वा पीसीआर परीक्षण गर्नुपर्नेछ ।
अपार्टमेन्टहरुमा कुनै तलामा संक्रमित पहिचान भएमा सो तलामा बस्ने सबै अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । दुई तलाभन्दा बढीमा संक्रमित पहिचान भएमा उक्त अपार्टमेन्ट सिल गर्ने व्यवस्था योजनामा समेटिएको छ ।त्यस्तै, आवासीय क्षेत्रका कुनै पनि घरमा कोभिड संक्रमित भेटिएमा घरका सबै क्वारेन्टिनमा बस्नुपर्नेछ । एकभन्दा बढी घरमा संक्रमित पहिचान भएमा सो अवास क्षेत्र नै सिल गर्ने व्यवस्था गरिएको छ । यसरी आवास क्षेत्र सिल गर्दा आवश्यक खाद्यन्न, औषधि तथा अन्य सामग्रीको व्यवस्थापन कोलोनी व्यवस्थापन समितिले गर्नुपर्नेछ ।
त्यसैगरी, वडास्तरमा ग्रामीण क्षेत्रमा पाँचभन्दा बढी र सहरी क्षेत्रमा सातभन्दा बढी घरमा संक्रमित देखिएमा सो वडा सिल गर्ने व्यवस्था योजनाले गरेको छ । यसरी वडा सिल गर्दा खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था वडाले गर्ने योजनामा समेटिएको छ । पालिकास्तरबाट भने कोभिड संक्रमण नियन्त्रणका लागि क्वारेन्टिन तथा आइसोलेसन सेन्टरको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, कन्ट्याक ट्रेसिङ तथा केस व्यवस्थापनको जिम्मेवारी पनि पालिकाले लिनुपर्ने योजनामा उल्लोख छ ।योजना कार्यान्वयनका लागि प्रत्येक टोलमा कम्तीमा एउटा समूह गठन गरी समुदायमा परिचालन गर्ने योजनाको मार्गनिर्देशनमा उल्लेख गरिएको छ । यी समूहले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरुमा स्वास्थ्यका मापदण्ड पालना भए/नभएको निगरानी तथा अनुगमन गर्नेछ ।
पछिल्लो समय टोल र परिवार स्तरमा कोभिड संक्रमण धेरै देखिएकाले सूक्ष्म योजना तयार पारिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए । अहिले महाशाखासँग पर्याप्त एन्टिजेन कीट आइपुगेको र टोल–टोलमा एन्टिजेन परीक्षण तीव्र रुपमा गरिने डा. पौडेलको भनाइ छ । यसरी टोल–टोलमा परिचालन गर्न अहिले जनशक्ति व्यवस्थापनको काम भइरहेको पनि डा. पौडेलले बताए ।