बिरगंज । नेपाल र पश्चिम अफ्रिकी मुलुक जाम्बियाबीच सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगप्रमुख अमृतकुमार राई र राष्ट्रसंघका लागि जाम्बियाका स्थायी नियोग प्रमुख लाङ याबोयबीच न्युयोर्कमा संयुक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
लगत्तै दुवै पक्षले द्विपक्षीय सम्बन्धबारे राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई जानकारी दिएको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हस्ताक्षर कार्यक्रममा दुवै पक्षले द्विपक्षीय सहकार्यलाई राष्ट्रिय र बहुराष्ट्रिय स्तरमा दुई मुलुकलाई फाइदा हुने गरी अघि बढ्ने विचार व्यक्त गरेका थिए ।
जाम्बिया पनि नेपालजस्तै असंलग्न आन्दोलन र ग्रुप अफ–७७ को सदस्य हो । राष्ट्रसंघमा १३४ वटा विकासोन्मुख मुलुकहरूको गठबन्धन ग्रुप अफ–७७ समूहको नामले चिनिन्छ ।
यससँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १ सय ७० पुगेको छ । नेपालले सबैभन्दा पहिलो कूटनीतिक सम्बन्ध बेलायतसँग सन् १८१६ मा राखेको थियो ।