बिरगंज । आम नागरिक कोरोना महामारीको दोस्रो लहरका कारण रोग र भोकले पिल्सिएका छन् । सरकारले उपचार र आवश्यक भएकालाई राहत दिनुको साटो जनताका आवाज बोल्ने प्रतिनिधिको थलो संसद नै मध्यरातमा भंग गरिदिएको छ ।
यतिबेला देशमा कामचलाउ सरकार छ । सोही सरकारले कोरोना भाइरसको महामारीबीच कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । अवस्था भने महामारीको कारण दैनिक ज्यान गुमाउनेको संख्या करिब २ सयको हाराहारीमा छ ।
सरकारले नै भेला, सभा त के घरबाट बाहिर ननिस्कन निषेधाज्ञा जारी गरेको छ । महामारी कहिले कम हुन्छ ? कुनै टुंगो छैन । यस्तो बेला सरकारले निर्वाचन गराउँदा ठूलो मानवीय संकट व्यहोर्नुपर्ने खतरा रहेको अग्रपंक्तिमा रहेर काम गरिरहेका ‘फ्रन्टलाइनर’हरूले सचेत गराएका छन् ।
कोरोनाको कारण आजसम्म ज्यान गुमाउनेको कूल संख्याको आधा भन्दा बढी संख्याले वैशाख यता मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् । वैशाख १ गतेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या जम्मा ३ हजार ६१ जना मात्र थियो । त्यसयता सोमबारसम्म ज्यान गुमाउनेको संख्या बढेर ६ हजार ५३१ पुगेको छ ।
सरकारले मध्यावधि निर्वाचन तय गरेको मितिमा चुनाव गराउँदा भारतको जस्तै नियति भोग्नुपर्ने अवस्था आउने चिन्ता विज्ञहरूले गरिरहेका छन् । कोभिड खोप, पीसीआर जाँचका लागि आउने भिडलाई व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा भोट दिन आउने भिडलाई व्यवस्थापन गर्न मुश्किल पर्ने बीर अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा.अच्युत कार्की बताउँछन् । त्यसैले यस्तो जोखिमपूर्ण अवस्थामा निर्वाचन गर्न नहुने बताइरहेका छन् ।
केही समय संक्रमण दर मत्थर भएको बेला गरिएको भीड, भेला, भोजको परिणाम अहिले बेहोरिरहेको अवस्थामा फेरि निर्वाचन गराउँदा भयावह स्थिति आउने सम्भावना देख्छन् डा.कार्की । उनी भन्छन् ‘केही समय अघि गरेको गल्तीको परिणति अहिले भोग्दैछौं । यसबाट सिक्नुपर्छ । यहि अवस्थामा निर्वाचन गराउँदा भयावह स्थिति आउने जोखिम छ । जुन हाम्रो नियन्त्रण बाहिर हुनसक्छ ।’
गत अप्रिल महिनामा भारतको केही राज्यमा भएको विधान सभाको निर्वाचनको तयारीको लागि भएको भेला, र्यालीले भाइरस फैलाएको थियो । नेपालमा पनि अहिलेको अवस्था आउनु भेला, भोज जस्ता कार्यहरूको परिणाम भएको अग्रपंक्तिमा काम गरिरहेका डाक्टरहरूको भनाइ छ ।
अहिलेकै अवस्थामा निर्वाचन गर्दा घातक हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुन बताउँछन् । निर्वाचन परम्परागत शैलीमा नभएर इलेक्ट्रोनिक माध्याममा गरे मात्रै जोखिम नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘हामी परम्परागत शैलीबाट र भीडभाड गर्दै निर्वाचनमा गयौं भने त एक जनामा मात्रै भाईरस हुँदा पनि त्यसले ठूलो रुप लिन्छ ।’
उनको भनाइ अनुसार भाइरस जत्ति नै आक्रामक र संक्रामक भए पनि भीड नगर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने हो भने बच्न सकिन्छ । डा.पुन भन्छन्, ‘संक्रमण दर त्यसबेला मथ्थर हुँदै गएछ भने पनि पुरानै गल्ती दोहोर्याउँदै भीडभाड गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने हो भने घातक हुनेछ ।’
भारतमा स्वास्थ्यकर्मी, कर्मचारीहरूको ठूलो संख्यामा कोरोनाका कारण मृत्यु भएको छ । चुनावमा खटिएका एक हजार ६२१ जना सरकारी कर्मचारीको कोरोना भाईरसबाट मृत्यु भएको विभिन्न संचार माध्यामहरूले जनाएका छन् । मृतकका आफन्तले भारत सरकारलाई हत्याको गरेको आरोप लगाइरहेका छन् । नेपालमा पनि सोही अवस्था आउनसक्ने भन्दै फ्रन्टलाइनरहरू चिन्ता व्यक्त गरिरहेका छन् ।
शिक्षण अस्पतालका डा.निरज बम निर्वाचन घोषणा अत्यन्तै जिम्मेवारहीन कदम भएको बताउँछन् । अझै केही वर्षसम्म भेला, र्याली, आमसभालाई निरुत्साहित गर्नुपर्ने अवस्थामा निर्वाचन गराएर ठूलो भूल गर्न सरकार लागिरहेको उनको भनाइ छ । भन्छन्, ‘यो निर्वाचनले राजनीतिक दल अथवा नेताहरूको लागि फाईदाजनक परिणाम आउला तर यसले जनस्वास्थ्यमा भने ठूलो संकट निम्त्याउने छ । यसले अरु थप दुई तीन वर्ष हामीलाई पिरोलिरहनेछ ।’
अहिले संक्रमण दर अथवा मृत्युदर कम देखिए पनि त्यसबेलाको अवस्था के हुन्छ अनुमान गर्न सकिने परिस्थिति छैन । एक जना संक्रमित निर्वाचनमा जाँदा मात्रै त्यसले ल्याउने परिणाम भयावह हुन्छ । डा.बम भारतलाई उदाहरणको रुपमा हेरेर भएपनि सचेत हुन जरुरी रहेको बताउँछन् ।
उनी भन्छन् ‘भारतका केही राज्यमा निर्वाचनपछि आगोसरी फैलिएको महामारीलाई हेर्न र त्यहाँबाट सिक्न सकिन्छ । यो निर्वाचनले आगोमा घ्यू थप्ने काम हुनेछ । त्यसैले अहिलेलाई निर्वाचन गर्ने मूर्खता नगरौं । ऐतिहासिक भूल गर्नबाट जोगिऊँ ।’
कोरोना भाइरसविरुद्ध पहिलो चरणको खोप उद्घाटन गर्दा तीन महिनाभित्र सबै नेपालीलाई खोप दिइसक्ने बचन झुट साबित भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः निर्वाचन अघि सबै नेपालीलाई कोरोनाविरूद्धको खोप दिने दावी गरेका छन् । तर तयारीको अवस्था हेर्दा त्यो सम्भावना निकै न्यून छ ।
सरकारले पहल गरिरहे पनि पूरा हुने सम्भावना कम भएको डाक्टरहरूको भनाइ छ । निर्वाचनका लागि तोकिएको मिति आउन करिब पाँच महिना बाँकी छ । त्यसमा पनि मोडर्ना र फाइजर ल्याउन सम्भव छैन । किनभने यी खोपहरूको तापक्रम सन्तुलनका लागि राख्ने स्टोर पर्याप्त छैन ।
निर्वाचन अघि सबैलाई खोप दिनका लागि कम्तिमा पनि अबको डेढ महिनाभित्र ल्याइसक्नुपर्ने र त्यही अनुसार राष्ट्रिय खोप अभियान शुरु गरिसक्नुपर्ने डाक्टरहरूको भनाइ छ । तर अहिलेसम्म खोप आउने कुनै निश्चित छैन । त्यसैले निर्वाचनअघि पूर्ण रुपमा खोप लगाउन पाउने सम्भावना कम भएको टेकुका डा.अनुप बास्तोला बताउँछन् ।
यही जोखिमका बीच निर्वाचन गराउँदा तेस्रो लहर फैलनसक्ने जोखिम रहेको बास्तोला बताउँछन् । उनी भन्छन् ‘भाइरस सर्ने भनेको नै भीडभाडबाट हो । लापरबाहीले हो । चुनाव गर्दा हुने भीडभाडले तेस्रो लहर ल्याउने जोखिम हुन्छ ।’
तोकिएको मितिमा निर्वाचन गर्न जोखिम नहुनलाई कोरोना निर्मूल हुनुपर्ने जुन सम्भावना नै नभएको पाटन अस्पतालका कोभिड फोकल पर्सन डा.विमल पाण्डे बताउँछन् । उनी भन्छन्, ‘हामीले यो निर्वाचन कति जोखिमपूर्ण छ भन्ने त भारतको बिहार र उत्तर प्रदेशको स्थिति हेरेर पनि अनुमान लगाउन सक्छौं ।’ यस्तै अवस्थामा निर्वाचन गराउँदा नेपालमा स्वास्थ्य संकटकाल आउन सक्ने जोखिम रहेको उनले बताए ।
सरकारको जिम्मेवार पदमा भएकाहरू, विपक्षी राजनीतिक दलहरूको अहिलेको मुख्य जिम्मेवारी भनेको जनतालाई महामारीको जोखिमबाट बचाउने हुनुपर्ने हो । तर निर्वाचनलाई प्राथमिकता दिइएको छ । तोकिएको समयमा निर्वाचन गराउँदा भयावह अवस्था सिर्जना हुने सम्भावना बढेको निजामति कर्मचारी अस्पतालका कोभिड सम्पर्क व्यक्ति प्रा.डा.दिनेश कुमार लम्साल बताउँछन् ।
उनी भन्छन्, ‘यसबेला त सबैको ध्यान महामारीलाई कसरी सेफ ल्याण्डिङ गर्ने भन्ने कुरा प्राथमिकतामा पर्नुपर्ने हो । तर निर्वाचन प्राथमिकतामा परेको अवस्था छ । यसले गम्भीर स्वास्थ्य संकट ल्याउने खतरा छ ।’
अस्पतालहरूमा अझै पनि अक्सिजन, आइसीयू, भेन्टिलेटरको अभाव छ । अस्पतालमा गम्भीर विरामीहरूको संख्या नघटेको अस्पतालहरूले बताइरहेका छन् । अहिले केही जिल्लामा बाहेक अधिकांश जिल्लामा निषेधाज्ञ जारी रहेको अवस्थामा समेत यो दरमा संक्रमित भेटिनु र मृतकको संख्या नघट्नुले पनि जोखिम कति छ भन्ने निर्क्योल गर्न सकिने उनीहरूको भनाइ छ ।
प्रा.डा.लम्साल भन्छन्, ‘अब केही वर्ष निर्वाचनलाई थाँती राखेर नागरिकको जीवनरक्षाको लागि एकतावद्ध भएर अगाडि बढौं । नागरिकको जीवन रहे सरकार हुनुको महत्व होला । नागरिक नै नभएर सरकारको मात्रै के अर्थ ?’
भक्तपुर अस्पताल भक्तपुरकी कोभिड सम्पर्क व्यक्ति डा.सुमित्रा गौतम भने विस्तारै संक्रमण कम हुँदै गए त्यसबेला स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सहभागी हुन सकिन्छ कि भन्ने अनुमान गर्छिन् ।