रंगुन | म्यानमारका सेना प्रमुख सिनियर जनरल मिन आङ ह्लाइनले सत्तारूढ दल नेश्लन लिग फर डेमोक्रेसी (एनएलडी)की नेत्री आङ सान सू चीको स्वास्थ्य ठिक रहेको बताएका छन्।शनिबार हङकङको फिनिक्स टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा उनले सू चीको स्वास्थ्य ठिक रहेको र उनलाई चाँडै अदालतमा पेश गरिने बताएका हुन्।
‘उहाँ स्वस्थ हुनुहुन्छ र घरमै हुनुहुन्छ। दर्ता भएको मुद्दाको सुनुवाइका लागि उहाँलाई चाँडै अदालतमा हाजिर गरिनेछ। उहाँले जे–जे गर्नुपर्ने थियो गरिसक्नुभयो,’ उनले भने।गत १ फेब्रुअरी सेनाले सत्ता कब्जा गरेपछि उनले दिएको यो नै पहिलो अन्तर्वार्ता हो। सू ची सैन्य ‘कू’पछि सार्वजनिक रूपमा देखिएकी छैनन्। जे होस्, उनी मार्चमा भर्चुअल माध्यमबाट अदालतमा उपस्थित भएकी थिइन्।
समाचार एजेन्सी एएफपीका अनुसार गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा भएको भनिएको धाँधलीको अनुसन्धान गरिरहेको जुन्ता सरकारले गठन गरेको निर्वाचन आयोगले अनुसन्धान पुरा गरिसकेको छ।आयोगले चुनावमा धाँधली भएको ठहर गर्दै एनएलडीलाई खारेज गर्ने चेतावनी दिएको छ।
‘एनएलडीले नोभेम्बरमा भएको निर्वाचनमा गरेको जालसाजी गैरकानुनी थियो। त्यसैले पार्टीको दर्ता खारेज गर्नुपर्नेछ,’ आयोगका अध्यक्ष थिन सोलाईले भने,‘ चुनावी भ्रष्टाचार गरेका जनतालाई देशद्रोही ठानिने छ र उनीहरुविरुद्ध कारबाही गरिनेछ।’यसअघि निर्वाचन आयोगले शुक्रबार सबै दलका प्रतिनिधिहरूसँग भेट गरेको थियो। तर, एनएलडीका कुनै प्रतिनिधि यस बैठकमा उपस्थित भएनन्।
सन् १९८८ मा विद्यार्थी नेतृत्वको विद्रोहको क्रममा सेनाको विपक्षी दलको रुपमा एनएलडी गठन भएको थियो र यसलले प्रत्येक चुनावमा विजयी हासिल गर्दै आएको थियो।तानाशाहीविरूद्ध पार्टीले १९९० को चुनावमा बहुमत सिट हात पारेको थियो तर सेनाले उक्त जितलाई मान्यता दिएन। यद्यपि, २०१५ एनएलडी ठूलो जितसहित सत्तामा आएको थियो।
अन्तर्वार्तामा सू चीको लोकप्रियता र मुलुकमा रिपब्लिकन सुधारको बारेमा तपाईं के सोच्नुहुन्छ भनेर जनरल मिनलाई सोधिएको प्रश्नमा भने, ‘उहाँले हर सम्भव सबै कोशिस गरिसक्नु भयो।’
अदालतमा अर्को सोमबार सू ची उपस्थिति हुनेछिन्। यो सुनुवाइ राजधानी नेपिडामा हुनेछ। अहिलेसम्म उनलाई आफ्ना वकिलहरूसँग सीधा कुरा गर्न अनुमति दिइएको छैन। सैन्य शासनका अनुसार यो निर्णय सुरक्षा कारण गरिएको हो।
चुनावमा धाँधली भएको भन्दै गत १ फेब्रुअरी मा जुन्ता सरकारले सत्ता आफ्नो हातमा लिएको थियो। सुरक्षाकर्मीले म्यानमार हिंसामा ८०० भन्दा बढीको हत्या गरेको छ।