बीरगन्ज। बीरगन्ज नाका हुँदै ५ बुलेट अक्सिजन नेपाल भित्रिएको छ । दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरूले बीरगन्ज नाका हुदै भारतबाट पाँच बुलेट अक्सिजन नेपाल भित्र्याएका हुन् ।काठमाडौँको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् । उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । उद्योगसँग दुई वटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ ।
लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार वटा ठुलो गरि ५ बुलेट अक्सिजन ग्यास नेपाल भित्रिएको छ ।
तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू , दोस्रोमा चार हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएर बिरामीहरू अक्सिजनको अभावमा मर्न थालेपछि यसलाई रोक्न तथा अक्सिजनको अभाव नहोस् भनेर उद्योगीहरूले भारतबाट अक्सिजन ग्यास ल्याउने गरेका छन् ।बीरगन्जमा रहेका तीन वटा अक्सिजन उद्योगले आफैँ ग्यास प्लान्टबाट अक्सिजन उत्पादन गरी वितरण गर्दै आएका छन् ।