वर्दिवास । महोत्तरीमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना नाबालक पनि रहेका छन् ।
इलाका प्रहरी कार्यालय वर्दिवासबाट खटेको टोलीले शुक्रबार बर्दिवास नगरपालिका वडा नम्बर ३ पाटुबाट प्रतिबन्धित लागूऔषधसहित तिनजना युवकलाई पक्राउ गर्यो ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका वडा नम्बर १४ बस्ने २८ वर्षीय ईन्द्रजीत साह सोनार, सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय रोशन थापा र सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर ५ बस्ने रोहित थापा रहेका छन् ।
प्रहरीले उनीहरुले लागूऔषध ओसारपोसारका लागि प्रयोग गरेको बा ८२ प ५११८ नम्वरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्ट अनुसार पक्राउ परेकाहरुको साथबाट स्पास्मो प्रोक्सिभान प्लस लेखिएको पाँच पत्ता ४० वटा र सोडियन फोसफेट एण्ड क्लोरपफेनिरमाइन मेल्ट सिरफ १०० एमएल २५ बोतल बरामद भएको छ ।
त्यसैगरी प्रहरीले महोत्तरी कै औरही नगरपालिका कठुधारबाट गौशाला नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय रबिन साह र एकजना १५ वर्षीय नाबालकलाई पनि लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट कठुधारका प्रहरीबाट खटेको टोलीले सम्सीबाट माईस्थानतर्फ जादै गरेका ज १०प ४९४२ नम्बरको मोटरसाईकललाई शंका लागेर चेकजाँच गर्दा साह र नाबालकको साथबाट एक्सप्लोन १०० एम एल ६९ बोतल, नाइट्रोभेट ट्यावलेट ४५ ट्यावेलट र स्पास्मोप्राक्सिभान प्लस २४ क्याप्सुल बरामद गरेको डिएसपी विष्टले जानकारी दिए ।
यता, महोत्तरी प्रहरील विभिन्न स्थानबाट लागूऔषध मगाएर कारोबार गर्ने एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका वडा नम्बर १२ बस्ने ३४ वर्षीय रञ्जन आले रहेका छन् । प्रहरीले उनि सवार ज १२ प ३००१ नम्वरको मोटरसाइकललाई गौशाला नगरपालिका वडा नम्बर ३ इटाटार चोक नियन्त्रणमा लिएको विष्टले बताए ।