वीरगंज ।नयाँ भेरियन्टसहितको कोरोना भाइरसले आक्रान्त अवस्थाबाट गुज्रिरहेको पर्सामा कोभिड एक्सन टिम (क्याट) ले अक्सिजन उद्योगहरुको अनुगमन थालेको छ ।क्याटले शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित मधु अक्सिजन उद्योगको अनुगमन गरेको छ । कोभिड संक्रमितको उपचारका लागि महत्वपूर्ण मानिदै आएको अक्सिजनको हाहाकार हुने अवस्थाको अन्त्यका लागि क्याटले अनगुमन थालेको हो ।
अनुगमनको क्रममा उद्योगले समानुपातिक प्रणालीअनुसार अक्सिजनको वितरण गर्दै आएको क्याटले निस्कर्ष निकालेको छ । अनुगमन टोलीलाई उद्योगका सञ्चालक रिक्कु रौनियारले अक्सिजनको उत्पादन र वितरणसम्बन्धमा जानकारी गराएका थिए ।पर्साका सरकारी तथा निजी अस्पतालहरुलाई दैनिक लगभग ६ सयको हाराहारीमा अक्सिजन सिलिण्डर वितरण गर्दै आएको सञ्चालक रौनियारले बताए । आगामी दिनमा पनि अक्सिजन अभाव हुन नदिनका लागि सक्दो सहयोग गर्ने रौनियारले प्रतिबद्धता जनाए ।
क्याटका संयोजक एवम् जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीको नेतृत्वमा गएको अनुगमन टोलीमा जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिब तबरेज अहमद, नेपाली कांग्रेस पर्साका सचिब श्याम पटेल, नेकपा एमालेका सञ्जिव मिश्रा, नेपाल पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवाल, क्याट पर्साका भोलेन्टीयर अफरोज अंसारी, समिन अख्तर लगायतको उपस्थिती रहेको थियो ।