वीरगंज । अन्टार्कटिका महादेशमा रहेको हिउँको विशाल पहाड टुक्रेर अलग्गिएको छ । यो संसारको सबभन्दा ठूलो हिमखण्ड भएको बताइएको छ । यो हिमखण्ड १७० किलोमिटर लामो छ र लगभग २५ किलोमिटर चौडा छ ।युरोपेली अन्तरिक्ष निकायको भूउपग्रहीय तस्वीरमा अन्टार्कटिकाको पश्चिमी भागमा रहेको रोन्ने आइस शेल्फबाट विशालकाय हिमखण्ड टुक्रिएको छ । यसले संसारमा डर उत्पन्न गराएको छ ।
हिमखण्ड टुक्रेर वेड्डेल समुद्रमा तैरिरहेको छ । यस विशालकाय हिमखण्डको पूरा क्षेत्रफल ४३ सय २० किलोमिटर छ । यो संसारको सबभन्दा ठूलो हिमखण्ड बनेको छ र यसको नाम ए–७६ दिइएको छ । युरोपेली संघको भूउपग्रह कोपर्निकस सेन्टीनेलले खिचेको हो । यसले पृथ्वीको ध्रुवीय क्षेत्रमा नजर राख्छ । बेलायतको अन्टार्कटिकाको सर्वे टोलीले हिमखण्ड टुक्रेको जानकारी पहिलोपटक दिएका हुन् ।
नेसनल स्नो यान्ड आइस डेटा सेन्टरअनुसार, हिमखण्ड टुक्रिँदा समुद्रको जलस्तरमा सीधै वृद्धि नभएपनि अप्रत्यक्ष रूपमा जलस्तर बढ्न सक्छ । यति मात्र नभई ग्लेसियरको प्रवाह र हिउँको धाराको गति सुस्त हुन सक्छ । अन्टार्कटिकामा पृथ्वीका अन्य भागको तुलनामा बढी तातिरहेको छ । अन्टार्कटिकामा जमेको पानीले संसारभरिको जलस्तर २०० फीटसम्म बढ्न सक्छ ।