बीरगन्ज । बीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्न लागेको स्वचालित अक्सिजन प्लाण्टको योजना स्थगित भएको जनाएको छ । महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बिहीबार विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालमा केही दाताहरुको सहयोग र महानगरपालिकाको पनि लगानीमा अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना सहितको कार्यक्रम स्थगित भएको जनाएका हुन् ।
सो कार्यक्रम अगाडि बढाउँदा केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा भएका टिकाटिप्पणीहरुप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको जनाउदै मेयर सरावगीले नेपाल सरकारले पनि अक्सिजन प्लाण्ट निर्माणका लागि नारायणी अस्पताललाई आर्थिक अनुदान उपलब्ध गराईदिएको जानकारी हुन आएको र महानगरपालिकाले अक्सिजन प्लाण्ट स्थापनाका लागि खर्च गर्न नपर्ने भएपछि योजना स्थगित गरिएको जनाएका हुन् । उनले अक्सिजन प्लाण्ट जडानका लागि सार्वजनिक अपिल मार्फत दाताहरुले उपलब्ध गराएको सहयोग रकम सहमति लिएर कोभिड–१९ नियन्त्रणको अन्य काममा खर्च गरिने विज्ञप्ति मार्फत प्रस्ट पारेका छन् ।
अक्सिजन प्लाण्ट स्थगित गरेपनि नारायणी अस्पतालमा विद्युत सेवालाई प्रभावकारी बनाउनका लागि ३०० केभिएको ट्रान्सफमर तथा २० केभिएको युपिएस जडान कार्य भने अगाडि बढाईने मेयर सरावगीले बताए ।यस्तै, अक्सिजन प्लाण्टको लागि नेपाल सरकारले नारायणी अस्पताललाई रकम निकासा गरेको हुँदा अस्पताल प्रशासनलाई तत्काल प्लाण्ट जडान गर्न मेयर सरावगीले माग समेत गरेका छन् ।यसैबीच, बीरगन्ज महानगरपालिकाको तर्फबाट यसअघि एउटा भेण्टिलेटर उपलब्ध गराएकोमा केही दिनमै फेरी थप ३ वटा भेण्टिलेटर नारायणी अस्पतालमा उपलब्ध गराउने समेत मेयर सरावगीले विज्ञप्ति मार्फत जनाएका छन् ।