वीरगंज | नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसिआर परिक्षणमा थप ८६ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।अस्पतालमा विभिन्न स्थानबाट ल्याइएको १ सय ९२ जनाको थ्रोट स्वाबको नमुनालाई आरटी-पिसिआर प्रविधिबाट परिक्षण गर्दा २५ महिलासहित थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै पर्सा जिल्लाका ५८ जना रहेका छन् । त्यसैगरी बाराका १५, रौतहटका १० र सर्लाहीका ३ जनामा संक्रमण देखिएको डा. दासले जानकारी दिए ।थपिएका संक्रमितहरु ७ वर्षदेखि ९८ वर्ष उमेर समूहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १३.६ देखि ३६.४ सम्म रहेको डा. दासले बताए ।
वीरगञ्जस्थित नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयरमा उपचाररत ६ जना संक्रमितको शनिवार मृत्यु भएको हो । मृत्यु हुनेहरु पर्सा, बारा र रौतहटका बासीन्दा हुन् ।नारायणी अस्पतालमा उपचाररत बाराको बारागढी गाउँपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।त्यसैगरी नारायणी अस्पतालमै रौतहटको बंकुल बस्ने ३५ वर्षीय महिलाको पनि उपचारकै क्रममा ज्यान गएको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी ८६ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको डा. दासले बताए ।
यस्तै वीरगञ्ज हेल्थ केयरमा उपचाररत पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी ६५ वर्षीय महिलाको पनि संक्रमणकै कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत बिनय कुमार श्रीवास्वतले बताए ।यसअघि शुक्रवार साँझ पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी ९० वर्षीय महिलाको होमआइसोलेसनमा मृत्यु भएको छ ।मृत्यु हुने सबैमा गम्भीर किसिमको निमोनिया देखिएको थियो । जगरनाथपुरकी ९० वर्षीय महिला बाहेक सबैलाई हाई लेभलको अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको उनीहरुको उपचार गरेका चिकित्सकले बताए ।