वीरगञ्ज । वैश्विक महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएर दशा लागिरहेको बेला एम्बुलेन्स चालकहरुलाई भने दशैँ लागेको छ ।आपत विपदको समयमा सकेसम्म निःशूल्क र नसके न्युनतम भाडामा नागरिकलाई राहत दिनुपर्नेमा उल्टै दोब्बरदेखि तेब्बरसम्म भाडा असुली भइरहेको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् । वीरगञ्ज महानगरपालिकादेखि विभिन्न संघ संस्थाले कोरोना संक्रमितका लागि निःशूल्क एम्बुलेन्स सेवा सूचारु गरेपनि प्रचारवाजी मात्र ठहर भएको छ ।
एम्बुलेन्सको लागि सम्पर्क गर्दा प्रायः सम्पर्क नहुने र एम्बुलेन्स उपलब्ध नहुने लगायतका बहाना बनाएर टार्ने गरेको एकजना संक्रमतिका आफन्तले बताएका छन् । वीरगञ्ज महानगरपालिकामा ४५ र अन्य १३ वटा स्थानीय तहमा ६५ गरी जिल्लाभर १ सय १० वटा एम्बुलेन्स रहेको सयुँक्त एम्बुलेन्स चालक संघ पर्साका अध्यक्ष नौसाद अन्सारीले जानकारी दिए ।
महामारीको समयमा एम्बुलेन्सलाई सेनिटाइज गर्ने, पिपिई लगाउने लगायतका खर्च जोडेर भाडा लिँदा पहिलेको तुलनामा केही बढी हुनु स्वभाविक भएको अध्यक्ष अन्सारीले बताए । स्थानीय प्रशासन र स्थानीय सरकारले भने महामारीको समयमा निश्चित भाडा तोकेर अनुगमन गर्नुपर्नेमा त्यसो नगरेको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले बताए ।समाजसेवाको नाममा झुठा प्रचारवाजी गर्ने र नागरिकलाई आश्वासन देखाउने काम बन्द गर्नुपर्ने चौगाईको धारणा छ । प्रशासनले यथाशिघ्र पहल थालेर भाडामा एकरुपता ल्याउन र मनोमानी भाडा असुल्ने एम्बुलेन्सलाई कारवाहीको दायरामा ल्याउन चौगाईले माग गरे ।