वीरगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन नधएर थप गिजोलिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध वैकल्पिक सरकार गठनको पक्षमा रहेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बनेपछि मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको बताए ।
शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड–१९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आफुहरू मुलुकलाई सही बाटोमा हिडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरूको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए ।
प्रधानमन्त्रीका अभिव्यक्तिहरू संसदलाई भंग गरेर मुलुकलाई अनिश्चिता र अन्यौलतातर्फ लैजाने खालका भएको उनको दाबी छ ।
“राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहीनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र माथि ग्रहण लाग्ने र धराममा पर्ने कार्य हुँदै गएको छ । त्यसैले आउने दिनहरूमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरू उत्पन्न भएको छ । ”