वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मान, प्रतिष्ठा तथा इज्जत दिने पार्टी नेतृत्वलाइ नै आरोप लगाउनु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।प्राईम्स टेलिभिजनबाट प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमालासँगको कुराकानीमा सडिसकेको राजनितिलाई जिवित बनाएर जनतालाई विश्वासयोग्य बनाउने पार्टी तथा नेतृत्वप्रति आरोप लगाउने पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य बिमल श्रीवास्तवले बकम्फुसे कुरा गरेको बताए ।
उमेरको हिसावले आफुले अँभै पनि श्रीवास्तवलाई सम्मान गर्ने बताउँदै जनता समाजवदी पार्टी (जसपा) का नेता समेत रहेका यादवले भने, ‘बिमल जी ले नेपालका भएभरका सबै पार्टी प्रवेश गर्नुभयो, अन्तिममा हाम्रो जसपामा पनि आउनुभयो, पार्टीले उहाँलाई सम्मान दियो, सेवा सुविधा दियो, तर अहिले त्यही पार्टीमाथी आरोप लगाउँदै हिँड्न सुहाउँदैन ।’
मधेश आन्दोलनको समयमा अष्ट्रेलियामा बस्ने र राजारजौटाको चम्चागिरी गर्दै आएका श्रीवास्वलाई प्रजातन्त्रको परिभाषासमेत थाहा नभएको यादवको भनाई छ । पार्टीले श्रीवास्तवलाई कारवाही गर्छ त ? भन्ने धमालाको प्रश्नको जवाफ दिँदै सांसद यादवले भने, ‘सडेको मान्छेलाई के कारवाही गर्ने, डेथ एक्सपाइर मान्छे, बौलाहा कुकुरजस्तो बोल्ने मान्छेलाई के कारवाही गर्ने ?, पार्टीले छोड्दियो भने हैसियत छैन । त्यसकारण बिना हैसियतको मान्छेलाई के कारवाही गर्ने ।’
चुनावभन्दा ४ दिनअगाडी पार्टीमा आएका श्रीवास्तवलाई टिकट दिएर विजयी बनाएको यादवको भनाई छ । कुनै पनि व्यक्ति आधिकारिक नहुने र बहुमतको कदर गर्ने भएकाले उपेन्द्र यादवसँगै बहुमत रहेको यादवको दावी छ । जसपाले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको बताउँदै पार्टीको विद्यानविपरित कोही पनि नजाने यादवले बताए ।