वीरगंज । बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा सकिन केही घण्टा मात्रै बाँकी छ ।संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि राष्ट्रपति भण्डारीले सोमवार आह्वान गरेकी थिइन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको लागि प्रयास गरेपनि अहिलेसम्म सार्थक बन्न सकेको छैन ।
वैकल्पिक सरकार गठनको प्रयास सफल हुने सम्भावना कमजोर बनेको कांग्रेसका एक नेताले लोकान्तरलाई जानकारी दिए । सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको महन्थ ठाकुर पक्ष केपी शर्मा ओलीको विकल्पमा अर्को सरकार बनाउन राजी नभएपछि वैकल्पिक सरकार गठनको सम्भावना टरेको कांग्रेसको निष्कर्ष छ ।
कांग्रेसले सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको थियो । माओवादी केन्द्रले देउवाको नेतृत्वमा सरकार गठन गर्न समर्थन जनाएको थियो । कांग्रेस सभापति देउवाले बिहीवार जसपा अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेका थिए । जसपा नेताहरूले देउवालाई प्रधानमन्त्री मान्न नसकिने अडान लिएका थिए ।
ठाकुरसँगको भेटपछि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा गरेर बहुमत जुटाउने देउवा र प्रचण्डको योजना रहेपनि त्यो सार्थक बन्ने सम्भावना पनि टरेजस्तो देखिएको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए ।कांग्रेस र माओवादीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनको प्रक्रिया शुरू भए त्यो बेला पनि प्रयास गर्ने बताएका छन् ।
वैकल्पिक सरकार गठनको सम्भावना क्षीण भएपछि प्रचण्ड देउवा निवासबाट निराश भएर बाहिरिएका छन् । आज बिहीवार राति ९ बजेसम्म बहुमतीय सरकार गठन गर्न दलहरूले सहमति जुटाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने स्रोतले बतायो । संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।