वीरगन्ज । आफैंले मागेको विश्वासमा बुहमतसिद्ध गर्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको छ। करिब दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका ओली दोस्रो कार्यकालमा ११ सय ८० दिन सरकारको कुर्सीमा रहे। आफ्नै पार्टीका २८ सांसदले समेत विश्वासको मत नदिएपछि ०७४ फागुन २ गते प्रधानमन्त्री भएका ओली सोमबार स्वतः पदमुक्त भएका हुन् ।
एमाले र माओवादी केन्द्र मिलेर ल्याएको चुनावी घोषणापत्रमा उल्लेख भएका कयौं काम सुरुसमेत भएका छैनन्। केही महत्वाकांक्षी योजनाहरु त अझै घोषणाको तहमै छन् ।
तर, विश्वासको मत लिन सोमबार प्रतिनिधिसभाको रोस्टममा उभिँदै ओलीले सत्यलाई पच्छ्याए वर्तमान सरकारलाई अविश्वास गर्नुपर्ने कुनै कारण नै नभएको तर्क निर्धक्कसाथ पेश गरे ।
आफ्नो सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको ओलीले बताइरहँदा नागरिक समाज र राजनीतिक वृत्तमा अनेकन प्रश्नहरु उठिरहेका छन् ।
कहिले ओम्नी प्रकरण त कहिले यतिलाई सरकारी जमिन र सम्पत्ति कौडीको भरमा हस्तान्तरण, कहिले ७० करोड टेप काण्ड त कहिले बालुवाटार जग्गा प्रकरण। प्रधानमन्त्री ओली प्रायजसो आफ्ना निर्णय र सहयोगीहरु विवादमा परिरहँदा आलोचनाको शिकार भइरहे।
त्यसो त कालापानी, लिपुलेक र लिम्पयाधुरा समेटिएको नक्सा प्रकाशित गरेर जनस्तरबाट प्रशंसा पाए पनि । तर, त्यसलाई उनले जोगाउन सकेनन् । भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले मध्यरातमा बालुवाटारमै गरेको भेटले चुच्चे नक्साबाट उठेको उनको छवि पनि धमिल्यायो।
एकताको सन्देश विश्वभर छर्ने उद्देश्यसहित बनेको नेकपामा पनि २ वर्ष नपुग्दै विवाद सुरु भयो । सोमबार विश्वासको मत नदिने घोषणा गर्न उभिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त वाम गठबन्धनको ‘फस्ट डे’देखि नै एकताको विपक्षमा ओली लागेको टिप्पणी गरे ।
संसद विघटनपछि बढ्दै गएको आन्तरिक कलह उत्कर्षमा पुग्दा ओली विश्वासको मत लिन बाध्य बनेका थिए । एकअर्काको आरोप र कोरोना महामारीबीच शक्ति प्रदर्शनका नाममा सडकमा मान्छे उतार्ने होड नै चल्यो । संसद विघटनपछि विपक्षी दल र नागरिक समाजले समेत आन्दोलित भए । पुस ५ पछि नेपालको राजनीतिमा एउटा अर्को अस्थिरताको बिउ रोपियो।
जनादेशअनुसार देशकै ठूलो कम्युनिष्ट पार्टीले पाँच वर्षसम्म सरकार चलाउन सकेन। पाँचै वर्ष सरकारले काम गर्न नसक्नुमा प्रचण्ड र ओलीले एक अर्कालाई आरोप र दोष लगाइरहेका छन्।
प्रचण्ड र माधव नेपालले केपी ओलीकै कारण यो संकटपूर्ण स्थिति आएको बताएका छन्। अर्कातिर ओलीले चाहिँ प्रचण्ड र माधव नेपालमाथि उल्टै दोष लगाएका छन् ।
५ पुसदेखि नै ओलीको ब्यापक आलोचना गर्दै आएको एमालेकै नेपाल समूह पार्टीबाट बाहिरिने संघारमा थियो । सोमबार बिहान नाटकीय परिवर्तनपछि नेपाल पक्ष राजीनामा छाडेर संसदमा अनुपस्थित हुने निर्णयमा पुग्यो।
विवादै विवादबीच गत फागुनदेखि नै एमाले जुनसुकै बेला फुट्ने अवस्थामा थियो । अझ कर्णाली प्रदेश प्रकरणले त कुनै पनि समय एमालेका असन्तुष्ट सांसदले फ्लोर क्रस गर्न सक्ने सम्भावना बलियो बनाएको थियो ।
ओलीले पार्टीका असन्तुष्ट पक्षलाई कारबाहीको त्रास देखाइरहे। उनले जसपा नेपालको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँग समर्थन अपेक्षा गर्दै सरकारको संकट टार्न सकिने विश्वास लिए ।
विवादको गाँठो झन् झन् कसिइरहँदा सोमबार नेपाल समूहका सांसद सदनमा उपस्थित भएनन् । उनीहरुले ओलीको दबाबबीच विश्वासको मत दिएनन्। उता, ओलीको अपेक्षा अनुसार जसपाले पनि साथ दिएन।
कार्यकाल असफल?
यस्तै अनेक राजनीतिक‘भूमरी’मा रुमलिँदा रुमलिँदै बितेको ओलीको यो कार्यकाल असफल भएको विश्लेषकहरू तर्क गर्छन् । हामीले राजनीतिक विश्लेषक श्याम श्रेष्ठ, राजेन्द्र महर्जन र लोकराज बरालसँग सरकार सफल वा असफल भने प्रश्न गरेका छौं :
श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक
यो सरकारले ३ वर्षमा ठूलो अवसर गुमायो भन्छु म । एउटा ऐतिहासिक अवसर आएको थियो, नेपाल बनाउने। त्यो अवसर सरकारले अहंकारका कारण गुमायो । झण्डै-झण्डै दुईतिहाइ बहुमतको सरकार अब साधारण बहुमत पनि नपाएर ढल्नु भनेको लाजमर्दो कुरा हो । ढल्यो किन त भन्दा अहंकारले ढलेको हो । नत्र ढल्नुपर्ने कुनै कारण थिएन । योसँगै ५ वर्ष निस्फिक्री सरकार चलाउने, संविधान बदल्ने, देश बदल्ने सारा अवसर थियो। त्यो सबै ख्याल ख्यालमा गुमायो ।
आफूभित्रकै लडाइँका कारण यी सबै अवसर गुमे। त्यो आफूभित्रको लडाईं पनि एउटै व्यक्तिको दम्भ र अहंकारले भयो । पार्टी फुट्यो, पार्टीको सरकार कसैलाई र सरकारको जिम्मेवारी आफूले सम्हालेको भए प्रधानमन्त्रीलाई त्यो कुरामा कुनै विरोध हुने थिएन ।
काम गरेर देखाएको भए उनको विरोध गर्ने कसैको ह्याउ नै हुँदैनथ्यो । उनले जिम्मेवारी न्यायोचित ढंगले बाँडेको भए पार्टीमा त्यस्तो खालको झगडा हुँदैनथ्यो । एउटा व्यक्तिको अहंकारले हुँदा हुँदैको बहुमतको सरकार पनि गुमायो, देश बदल्ने अवसर पनि गुमायो र अहिलेको अवस्थामा आइपुग्यो । ओलीले आफ्नो धज्जी आफैं उडाउन खोजे उनले लोकतन्त्र सिद्याउन खोजे र संविधान च्यातचुत गर्न खोजे। त्यसो हुँदा आफ्नै सरकार पनि च्यातचुत भयो ।
राजेन्द्र महर्जन, राजनीतिक विश्लेषक
प्रधानमन्त्री केपी शर्मा ओलीले जे जस्तो खालको बाचा बन्धन गरे, त्यसको आधारमा नै हेर्ने हो भने सफलताको कसीमा दाँज्दा सबैभन्दा कमजोर सरकार भएको देखियो।
कुनै डेलिभरी दिन नसक्ने सरकार भयो । उनले र उनको सरकारले जुन समृद्धिको कुरा गर्यो, त्यो छाडेर कोरोना कालको समय हेर्ने हो भने त सुख समृद्धि त परै जाओस् संकटको बेलामा एउटा सामान्य आशा जोगाउन नसक्ने काम भयो ।
उल्टै जनतालाई गालीगलौज गर्ने र आरोप थुपार्ने काम भयो । सुख समृद्धि आश गर्ने ठाउँ पनि थिएन। सफलताको कसी बनाइयो भने, संविधानलाई च्यात्ने मामिलामा वा आसेपासेलाई पोस्ने मामिलामा ओली सफल भए । जम्मै काण्डमा चोख्याउने कुरामा मात्र ओली सफल भए ।
लोकराज बराल, राजनीतिक विश्लेषक
मुख्य कुरा सरकार कसरी बन्छ भन्ने हो ? यो सरकार त आफैंलाई विश्वास नभएर विश्वासको मत लिन गएको जस्तो लाग्छ । यो हुन्छ भन्ने मलाई थाहा थियो । किनभने उनलाई पार्टीभित्रबाटै असजिलो थियो । वैकल्पिक सरकार कसरी बन्छ भन्नै अझै प्रस्ट भएको छैन । जसपा पूरा नभई अहिले नै केही भन्न सकिँदैन।
यो सरकार पूर्णत फेल भएको मान्छु मैले । ओलीले जतिसुकै वर्णन गरेपनि त्यो केटाकेटीले पनि पत्याउँदैनन् । अब ६ वर्षमा एउटा धरहरा ठड्याएर जस लिन खोजेर हुँदैन । सबै राम्रो छ मेरो पालामा संसारमा इज्जत बढेको छ भन्नुहुन्छ त्यो कुरा कसरी पत्याउने ?
अरुले के गर्छन भन्ने त्यो भोलि नै हेरौँला, तर, उहाँले गएको ३ वर्षमा आफ्नो घर भत्काउनुभयो, पार्टी भत्काउनुभयो । पार्टी पनि ध्वस्त बनाइदिए, मुलुक पनि अस्थिरतातर्फ धकेलियो, संस्थाहरु खत्तम भए, संविधानको त्यो हालत भयो, सुप्रिम कोर्टका न्यायाधीशले आफैं प्रयोग गर्नेसम्म भयो ।
राष्ट्रवादी छवि पनि नक्कली रहेछ देखिहाल्यो । अर्थतन्त्रदेखि कोभिड महामारीमा समेत कुनै राम्रो सेवा प्रवाह गरेनन् । ओली र उनी तृत्वको सरकार व्यक्तिगत अहमको कारण फेल भयो ।