वीरगंज | शरीरमा अक्सिजनको मात्रा र पल्स जाँच गर्ने अक्सिमिटर दोब्बर मूल्यमा बिक्री गरेका एक व्यवसायीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका–१६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा एक हजार ९ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३ हजार पाँच सय रुपैयाँमा बिक्री गरेको प्रहरीमा उजुरी पुगेको थियो।विशेष सूचनाको आधारमा शुक्रबार साँझ साढे ५ बजे प्रहरी टोलीले तिवारीको पसलबाट १२ थान अक्सिमिटर बरामद गरेको थियो।
तिवारीलाई नियन्त्रणमा लिएर कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जनाए।कोरोनाको दोस्रो चरण उरालो लाग्दै गरेको अवस्थामा मास्क, सेनिटाइजर, अक्सिमिटर जस्ता उपकरणमा अचाक्ली मूल्यवृद्धि भएको गुनासो बढ्दो छ।