वीरगञ्ज। नारायणी अस्पतालमा मंगलबार अबेर राति गरिएको परिक्षणमा थप १ सय ९० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।अस्पतालमा बारा, पर्सालगायतका स्थानबाट आएका २ सय ८८ जनाको थ्रोट स्वाबलाई आरटी-पीसिआर प्रविधिबाट परिक्षण गर्दा १ सय ७५ र एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा ३३ गरेर १ सय ९० जना नयाँ सङ्क्रमित थपिएका अस्पतालले जनाएको छ । थपिएका अधिकान्स सङ्क्रमित पर्सा जिल्लाका बासिन्दा हुन् ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार थपिएका सङ्क्रमितमध्ये पर्साका १ सय ३३, बाराका ४१, सर्लाहीका ७ र रौतहटका ५ जना रहेका छन्।त्यस्तै महोत्तरी, धनुषा, सप्तरी र बाँकेका नेपालगञ्जका १/१ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको डा. दासले बताए । सङ्क्रमित हुनेमा ५ बर्षदेखि ७० बर्ष उमेर समूहका १ सय ३३ पुरुष र ५७ महिला रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवका अनुसार, कोरोना भाइरस संक्रमणको दोश्रो लहर शुरु भए यता गत चैत १५ देखि बैशाख २० सम्म पर्सा जिल्ला घर भएका १ हजार ७ सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसमा १ सय ३३ जना नयाँ कोरोना सङ्क्रमित थप भएको छ । श्रीवास्तवका अनुसार, वीरगञ्जका विभिन्न अस्पतालमा हाल १ सय ६७ जना सङ्क्रमित उपचाररत छन् ।नारायणी अस्पतालमा ९३ जना, नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालित कोभिड अस्थायी अस्पतालमा ३५ जना, बयोधा अस्पतालमा १६ जना , वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १५ जना र गण्डक हस्पिटलमा ८ जना सङ्क्रमित उपचाररत छन् ।