वीरगञ्ज | वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ६८ वर्षीय एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचारकै क्रममा राति १ बजे ती पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
स्वास्थ्यमा समस्या भएपछि वैशाख १७ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी टाईप टु डायबिटिजका विरामी समेत थिए । कोरोना संक्रमणपछि कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।नारायणी अस्पतालमा मात्रै २६ जनाको मृत्यु भएको छ । शनिबार मात्रै नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको थियो ।