वीरगंज | प्रदेश २ मा थप ४ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गौर अस्पताल रौतहट, जलेश्वर अस्पताल महोत्तरी, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ४ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।
शनिबार पर्सामा १ सय ५२ जना, धनुषामा १ सय १३ जना, महोत्तरीमा ६५ जना, रौतहटमा ३९, बारामा ३२, सिरहामा ७, सर्लाहीमा ७ र अन्य प्रदेशका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५२ पुगेको छ।
हाल पर्सामा सबैभन्दा बढी १ हजार ४ सय २०, धनुषामा ४ सय ३, बारामा २ सय ८२, रौतहटमा १ सय ५९, महोत्तरीमा १ सय ५२, सप्तरीमा ७१, सिरहामा ४९ र सर्लाहीमा १६ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन्।त्यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।