नयाँ दिल्ली | भारतमा गएको साता कोभिडको संक्रमण यसरी बढ्यो कि विश्वका कुनै पनि मुलुकले सामना गर्न नपरेको स्थिति आइलाग्यो। पछिल्लो सात दिनमा भारतमा २२ लाख ४९ हजार नयाँ कोभिड १९ का केस थपिए। पेन्डेमिक सुरु भएदेखिकै तथ्याङ्क केलाउने हो भने यति धेरै प्रभावित कुनै पनि मुलुक कहिल्यै भएको थिएन।
आइतवारमात्रै भारतमा थप ३ लाख ५५ हजार मानिस संक्रमित थपिए भने २ हजार ८ सय ७ जना संक्रमितले ज्यान गुमाए।
डरलाग्दो गरी बढेको मृत्यु संख्या र संक्रमितको संख्याले भारतको स्वास्थ्य क्षेत्रको अवस्था उजागर भएको छ। पछिल्लो सात दिनमा भारतमा १६ हजार २ सय ५७ जना कोरोना भाइरस संक्रमितले भारतमा ज्यान गुमाएका छन् जबकि अघिल्लो साता ८ हजार ५ सय ८८ जनाको मृत्यु भएको थियो। सात दिनको तथ्याङ्कका आधारमा मृत्यु दर ८९ प्रतिशतले वृद्धि भएको छ।
भारतमा एक सातामा नै करिब २२ लाख संक्रमित भएको रेकर्ड बनिरहँदा त्यसपछि एक सातामा नै सबैभन्दा बढी अमेरिकामा संक्रमित भेटिएका थिए। अमेरिकामा १७ लाख ९० हजार एक सातामा सबैभन्दा बढी संक्रमित भेटिएका थिए। गएको जनवरीमा अमेरिकामा यस्तो रेकर्ड भएको हो।
अर्को संक्रमणले ज्यादै प्रभाव पारेको ब्राजिलमा एक सातामा सबैभन्दा धेरै ५ लाख ४० हजार जना रेकर्ड भएका थिए।