बारा । कोरोना संक्रमण थप फैलिन नदिन तथा यसबाट बच्न जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा कडाइ गरेको छ।जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएको र जिल्लाका विभिन्न भागमा विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठानलगायत अत्यावश्यक धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ।
होटल तथा पार्टी प्यालेसमा विवाह गर्दा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर मात्र गर्न समेत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै, नेपाल–भारत सीमा क्षेत्र भई विवाह गर्नुपर्दा बेहुला–बेहुली र जन्ती गरी बढीमा दुई वटा सवारी साधनमा २५ जनाभन्दा बढी सवार नहुन तथा सो बाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सूचनामार्फत सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, चालकसहित यात्रुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ। पछिल्लो समय बारा जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।